काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरबासीका लागि लोक सेवा तयारी कक्षा सुरु गरेको छ । गएको महिना वैशाख २२ गते सार्वजनिक सूचनामार्फत कक्षामा सहभागी हुन चाहने इच्छुक महानगरबासीलाई आवेदनका लागि आह्वान गरिएको थियो ।
यस सूचनाका आधारमा २०५ जनाको आवेदन परेको थियो । आवेदकमध्ये १७७ जना छनोट गरेर चैतन्य एकेडेमीसँगको सहकार्यमा कक्षा सुरु गरिएको महानगरपालिकाले जनाएको छ । यसरी कक्षा लिनेमा ७२ जना नायब सुब्बा र खरिदार पदका लागि छन् । यस्तै १०५ जना शाखा अधिकृत पदका लागि छन् ।
आज कार्यक्रम थालनी गर्दै महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले, व्यवस्थित समाज निर्माण र समृद्ध नगर निर्माणका लागि पूर्वाधार विकास र सामाजिक विकाससँगै बौद्धिक विकासका कार्यक्रम एकै पटक सञ्चालन गर्न थालिएको बताएका छन् ।
नेपाल सरकारका पूर्व सचिव एवम् कक्षाका स्रोत व्यक्ति गोपीनाथ मैनालीले, बौद्धिक क्षमता र सिर्जनात्मक लेखन सिप भएका व्यक्तिले सजिलै लोक सेवा उत्तीर्ण गर्न सक्ने बताएका छन् ।
तालिममा महानगरपालिकाको स्थायी बासिन्दा, महिलाको हकमा ४० वर्ष र पुरुषका हकमा ३५ वर्ष उमेर पूरा नभएकालाई कक्षामा सहभागी गराइएको छ ।