क्यानडामा बालबालिका « प्रशासन
Logo ११ असार २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

क्यानडामा बालबालिका


५ जेष्ठ २०८१, शनिबार


जब म क्यानडा पुगेँ अर्को दिन देखि नै बाटोमा, चउरमा, आँगनमा कतै पनि बच्चाहरूको झुन्ड देख्न पाइएन । मेरो दुई वर्ष नपुगेकी नातिनी पनि थिइन । उनका खेल्ने साथीहरू एउटा पनि देखिन । घरमा भएका खेलौना नै उनका साथी थिए । 

मलाई साना बालबालिका औधी मन पर्ने । बच्चाहरूसँग खेल्न, कुरा गर्न, आफूसँग भएको कुनै चिज बस्तु दिन मन लाग्ने गर्दथ्यो तर बच्चाहरू नै नपाए पछि त्यसको औचित्य पनि खस्कँदै गयो । बच्चाहरूको सम्बन्धमा परिवारका लागी केही महत्त्वपूर्ण काम रहेछन् । पहिलो त उनीहरूको राम्रो हेरचाह गर्ने र माया गर्ने । बच्चालाई कसरी हुर्काउँदै बढाउँदै लैजाने त्यो अर्को महत्त्वपूर्ण पाटो रहेछ । 

आमाको पेटमा बच्चा गर्भाधान भए पश्चात् नै उसप्रतिको हेरचाह शुरु हुँदो रहेछ । बच्चा र आमाको रेखदेखको लागी स्वास्थ्य संस्था र सरकारी कर्मचारीहरूले उसप्रति बढी निगरानी राख्दा रहेछन् । कसैले पनि बच्चालाई एक्लै छाड्न पाइँदो रहेनछ । घरमासमेत आफ्नो आँखा अगाडि नै बच्चालाई राखेर अन्य काम काज गर्नु पर्दो रहेछ । बच्चाहरू जिज्ञासु हुन्छन् साथै जिद्धिवाल पनि हुन्छन् । बच्चालाई फकाउने हो, गाली गर्ने होइन । गाली गर्नु वा पिट्नु भनेको दण्डनीय नै रहेछ । 

बच्चाहरुसँगसँगै बस, खेल, उसलाई हरेक क्रियाकलापमा साहस देऊ, सहभागी बन, जबसम्म उ कानुनी रूपमा वयस्क हुँदैन भन्दा रहेछन् । उमेर अनुसारको उसको चाहनाप्रति ध्यान देऊ भन्दा रहेछन् । क्यानडामा बच्चा जन्माउनु र हुर्काउनु भनेको अत्यन्त गाह्रो विषय पनि रहेछ । त्यसैले पनि होला बच्चा जन्माउने प्रतिशत पनि निकै कम देखिँदो रहेछ । बच्चा जन्मेपछि उसको नयाँ जीवनलाई कसरी सार्थक बनाउने भन्ने मै बाबु आमाको ध्यान केन्द्रित गरेको पाइयो । बच्चालाई आफ्नो संस्कृति र क्यानेडियन संस्कृतिमा घुलमिल गराउनु पनि अर्को जिम्मेवारी रहेछ ।

बच्चा बा र आमाको हो तर यदि क्यानडामा जन्मिएको छ भने त्यो क्यानेडियन नागरिक हो । राज्यले उसप्रतिको निगरानी गहिरो गरी गर्दो रहेछ । जागिरे आमाहरूका बच्चा जन्मेपश्चात् एक वर्षको सुत्केरी बिदा पनि दिँदो रहेछ । बच्चाको निगरानीको लागी अस्पताल होस् वा डाक्टरले समय तालिका बमोजिम उसको हेरचाहको लागी बोलाउँदो रहेछ । 

क्यानडामा खास गरी क्यानेडियन नागरिक, स्थायी बसोबासवाला नागरिक(पिआर), अस्थायी रूपमा पुगेको नागरिक, लोपोन्मुख नागरिक र संरक्षित नागरिकको रूपमा वर्गीकृत गरेको पाइयो । यिनै नागरिकहरूका बच्चाहरूको सम्बन्धमा राज्यले उत्तरदायित्व बहन गरेको पाइयो । राज्यले जहाँ बस्ती छ त्यसको नजिकमा बच्चाहरूको लागी खेल मैदान वा पार्क अनिवार्य रूपमा तयार गरेको पाइयो । खाली जमिन देख्दैमा जहाँ मन लाग्यो त्यही बसोबास एरिया राख्दो रहेनछ । बस्तीसँगै राज्यले सबै पूर्वाधार खडा गर्नु पर्ने भएकोले त्यसमा पनि विचार पुर्‍याउँदो रहेछ । 

सामान्यतया अरूको बच्चा राम्रो लाग्यो भन्दैमा छुन, उचाल्न , खान दिन पाइँदो रहेनछ त्यसको लागी उसको अभिभावकको स्वीकृति अनिवार्य लिनु पर्दो रहेछ । बच्चालाई खाना खुवाउँदा हातले खुवाउन पाइँदो रहेनछ । चम्चा प्रयोग गर्नु पर्दो रहेछ । रेष्टुरेण्ट होस वा होटलमा पुग्दा बच्चाहरूलाई बस्ने कुर्सी वरिपरि वारले छेकेर राख्दो रहेछ । खासमा यो बच्चा कुुसीबाट नखसोस् भन्ने नै हो । सुत्दा पनि बच्चा सुताउने खाट छुट्टै बनाउँदा रहेछन् ताकी बच्चा सुतेको बेलामा नच्यापियोस् । बच्चा जन्मँदा आमा बुवाको पनि जन्म हुन्छ किनकि बच्चा जन्मँदा बित्तिकै वयस्क केटाकेटी आमा बुवाको भूमिकामा पुगी हाल्दछन् । बच्चाको स्वस्थतासँग आमा बुवाको स्वस्थतालाई पनि गहिरोसँग ध्यान दिएको पाइयो । बच्चालाई गराउने स्तनपान होस् वा काखमा राख्दा होस् सबै विचार पुराउनु पर्ने रहेछ । 

बच्चालाई काखमा लिँदा विचार पुराउन सकिएन भने गर्धनको हड्डीमा दबाब पर्न सक्दो रहेछ । बच्चालाई नाङ्गै पारेर उचाल्न पनि पाइँदो रहेनछ । सफा कपडाको साथमा मात्र उचाल्न पाइँदो रहेछ ।  बच्चा रोयो भन्दैमा काँधमा बोकेर कुदाउने होइन बरु रोयो भने काँध वा काखमा राखेर बिस्तारै ढाडमा थपथपाएर फकाउनु भनेर सिकाउँदा रहेछन् । बच्चासँग संवाद गर्नु स्पर्श गर्नु उसको वृत्ति विकासको लागी महत्त्वपूर्ण मानिँदो रहेछ । 

बच्चाका डाइपर उमेर र तौल अनुसारका हुँदा रहेछन् । त्यसरी डाइपर बदल्दा पनि ख्याल गर्नु पर्दो रहेछ । बच्चाले छिटो छिटो दिसा पिसाब गर्ने भएकोले लामो समयसम्म डाइपर राख्न हुँदो रहेनछ अन्यथा कीटाणुले आक्रमण गर्न सक्दो रहेछ भन्दा रहेछन् । कम्तिमा पनि २–२ घण्टामा डाइपर फेर्न पर्दो रहेछ । बच्चाको नाभि नझरेसम्म नुहाइदिन हुँदो रहेनछ । नुहाउँदा पनि मनतातो पानीले बिस्तारै माडेर नुहाइदिनु पर्दो रहेछ । १० दिनसम्म नाभिको ख्याल गर्नु पर्दो रहेछ । बच्चाले खाने बोतलहरू सफा तातो पानीमा मज्जाले उमालेर मात्र प्रयोग गर्नु पर्दो रहेछ । 

बच्चालाई गाडीमा राख्दा गाडीको सिटको पछाडि फर्कने गरी सिट बेल्टले बाँधेर बच्चा सिटमा राख्नु पर्दो रहेछ । गाडिएको ब्रेक लाग्दा वा उबडखाबडमा बच्चालाई कुनै प्रकारको असर नपरोस् भन्ने हो । गाडीमा कसैले बच्चा रोयो भनेर काखमा लिएर गयो भने दण्डनीय मानिँदो रहेछ । यो पाँच वर्ष नपुगुञ्जेलसम्मको लागी रहेछ । बच्चालाई डे कियरमा राख्ने बेला भयो भने उमेर समूह अनुसार राख्दा रहेछन् । क्यानडाका (१३ प्रदेश र स्वायत्त क्षेत्र गरी) रजिष्र्टड डे कियर ४० हजार जति रहेछन् । २ वर्ष सम्मको लागी ३ जनालाई हेर्ने एक जना हेरचाह गर्ने, यस्तै उमेर अनुसार बढाउँदै लैजाँदा रहेछन् । राज्यले केही अनुदान दिँदो रहेछ भने सम्बन्धित बाबु आमाले पनि योगदान गर्नु पर्दो रहेछ । हरेक १५ दिनमा बिल भुक्तानी गर्नु पर्दो रहेछ । बच्चालाई चाहिने खाने कुरा देखि लत्ता कपडासम्म आफैले व्यवस्थापन गर्दा रहेछन् । 

बच्चालाई डे कियरमा क्यानेडियन संस्कृति बमोजिम हरेक बच्चाहरूसँग घुलमिल गराउने, खेलाउने, निश्चित समयमा सुताउने गर्दा रहेछन् । डे कियरमा कुनै पनि बच्चालाई दम्काउन पिट्न त पाइँदैन यदि बच्चाले डेकेयरमा पुगेर कुनै अपराधिक खालका भाषा प्रयोग गरेको छ भने त्यस्ता बच्चाका अभिभावकहरूलाई निगरानीमा राख्दो रहेछ । जस्तो कुनै बच्चाले “मार्छु” भन्ने शब्द प्रयोग गरयो भने घरमा कुनै न कुनै प्रकारको हिंसा छ भन्ने बुझ्दो रहेछ । आवेश , घृणा वा हिंसाका शब्दहरू प्रयोग गर्न थाल्यो भने राज्यले घरको वातावरण तर्फ निगरानी राख्दो रहेछ । नजिकमा सानो उमेरको बच्चाको लागी डे कियर पाउन निकै गाह्रो पनि रहेछ । डे कियर देखि नै बच्चाको स्कुले जीवन शुरु भएको मानिँदो रहेछ । क्यानडामा आधारभूत र विद्यालय स्तरको शिक्षा सरकारी नै छ । जथाभाबी स्कुल खोल्ने वा स्वीकृति दिने चलन पनि रहेनछ । बच्चालाई लिन वा छाडनको लागी सार्वजनिक बसको व्यवस्था गरिँदो रहेछ । विद्यालय स्तरको शिक्षा निःशुल्क रहेछ । बिहान ९ बजे देखी दिउसो ३ बजेसम्म स्कुल लाग्दा रहेछन् । १२ वर्ष उमेर नपुगुन्जेलसम्म बच्चालाई एकलै छाडन पाइँदो रहेनछ । बसमा पुराउन होस वा लिन बस आउँदा अनिवार्य रूपमा अभिभावक उपस्थित हुन पर्दो रहेछ । यसले गर्दा कामकाजी बाबु आमाले ३ बजे पछि अर्को डे केयर खोज्नु पर्ने बाध्यता जस्तै रहेछ । छोरी बच्चाहरूको लागी स्विमिङ कस्टम र छाती छोपिने गरी कपडाको व्यवस्था गन पर्ने रहेछ । नाङ्गै कुनै पनि बच्चालाई पौडी खेलाउन नहुने पनि रहेछ । 

यसरी हेर्दा बच्चाहरूको शाररीक, मानसिक, स्वास्थ्य, शिक्षा, बाल अधिकार, संस्कृति, संस्कार, सभ्यता, आदर, सत्कार,सहयोगी जस्ता अनगिन्ती नियमहरूले बच्चाहरूलाई  प्रशिक्षित गर्दो रहेछ ।

प्रतिक्रिया दिनुहोस