काठमाडौँ । प्रतिनिधि सभाको मंगलबार साँझ बसेको बैठक काँग्रेस सांसदहरुले अवरोध पुर्याएका छन् । बैठक प्रारम्भ भएको सभामुखले घोषणा गर्नासाथ काँग्रेस सांसदहरु वेल घेराउ पुगेका थिए ।
सभामुख देवराज घिमिरेले राष्ट्रपतिलाई धन्यवाद दिने, संसद्का विभिन्न कार्यसूची रहेको भन्दै काँग्रेस सांसदहरुलाई आफ्नो स्थानमा बस्न आग्रह गरेका थिए । तर, सभामुख घिमिरेको पटक–पटकको आग्रहलाई काँग्रेस सांसदहरुले नमानेपछि बैठक जेठ ३ गते बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ ।
मङ्गलवारको संयुक्त सदनमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने बैठकको कार्यसूची रहे पनि काँग्रेसले संसद अवरुद्ध पारेको हो । काँग्रेसको अवरोधका कारण राष्ट्रिय सभा बैठकमा पनि राष्ट्रपतिलाई दिने धन्यवाद प्रस्ताव पेस हुन सकेन ।
काँग्रेसले सहकारी रकम हिनामिना प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समितिको माग राखेर संसद अवरुद्ध पार्दै आएको छ ।