संसदीय छानबिनको मागबाट पछि नहट्ने काँग्रेसको निर्णय  « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

संसदीय छानबिनको मागबाट पछि नहट्ने काँग्रेसको निर्णय 


२६ बैशाख २०८१, बुधबार


काठमाडौँ । नेपाली काँग्रेसले सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने मागबाट पछि नहट्ने निर्णय गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बोलाएको शीर्ष तहका नेताको बैठकले संसदीय छानबिन समिति बनाउने पूर्वअडान कायम राख्ने निर्णय गरेको उपसभापति धनराज गुरुङले जानकारी दिए ।

सरकारले २८ वैशाखदेखि संसदको बजेट अधिवेशन बोलाएको छ । अघिल्लो संसद बैठकमा पनि काँग्रेसले गृहमन्त्री रवि लामिछाने माथि संसदीय छानबिन समिति गठन हुनुपर्ने माग गर्दै आएको थियो । काँग्रेसले संसदीय समिति माग गरिरहँदा ३ वैशाखमा सरकारले संसद बैठक अन्त्य गरेको थियो ।

बुधबार बसेको काँग्रेसको पदाधिकारी र पूर्व पदाधिकारी बैठकमा गण्डकीको सरकार निर्माणमा भइरहेका गतिविधि माथि पनि छलफल भएको थियो । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत नपाउँदा पनि असंवैधानिक तरिकाले पाएको घोषणा गरिएको काँग्रेसको भनाइ छ ।

गण्डकी सन्दर्भमा काँग्रेस गम्भीर रहेको उनले बताए । गुरुङले असंवैधानिक कदम चालिएको भन्दै त्यसविरुद्ध न्यायालय गएको बताए ।

गण्डकीमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत माग्दा उक्त प्रस्तावको पक्षमा ३० मत परेको थियो । तर सभामुख कृष्ण धितालले ६० सदस्यीय प्रदेशसभामा ३० मत पाउँदा पनि मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस