कार्यकारी निर्देशक नेपालले भने-सहकारीका नाममा राजनीति भयो, नियमन गर्न छुट्टै स्वायत्त निकाय चाहियो « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

कार्यकारी निर्देशक नेपालले भने-सहकारीका नाममा राजनीति भयो, नियमन गर्न छुट्टै स्वायत्त निकाय चाहियो


२६ बैशाख २०८१, बुधबार


काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले सहकारी सङ्घसंस्थाहरू बेलगाम घोडा जस्तै आफू अनुकूल चलेकाले समस्या आएको बताएका छन् ।

बचत तथा ऋणको कारोबार गर्ने सहकारीहरू पनि कुनै नियम, नीति निर्देशनमा आधारित नभएर सञ्चालकहरूको मनोमौजीमा चलेको, जथाभावी बचत र ऋणको कारोबार गरेकाले समस्या आएको उनको भनाइ थियो ।

राजधानीमा जारी लेखा सुपरिवेक्षण समितिको दोस्रो राष्ट्रिय गोष्ठीमा बुधबार कार्यपत्र प्रस्तुत गर्दै कार्यकारी निर्देशक नेपालले भने, ‘खास सहकारी क्षेत्रको अहिलेको मुख्य समस्या विश्वासको सङ्कट हो । कसैलाई अहिले सहकारीमा ट्रान्जेक्सन गर भन्यो भने नाक खुम्च्याउने स्थिति छ ।’

सहकारी आन्दोलन मक्किएको र विश्वास गुमाएको तर्क गर्दै उनले यो क्षेत्रको सुधारका लागि बैंक तथा वित्त कम्पनीहरूले जस्तै नीति, नियम र निर्देशिकाहरू कडाइका साथ पालना गर्नुको विकल्प नरहेको बताए ।

बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई समेत स्वेच्छाचारी रूपमा चल्न नदिएको भन्दै निर्देशक नेपालले सञ्चालक, व्यवस्थापक र बैंकको विभिन्न निकाय तथा विभागमा रहेर काम गर्ने जिम्मेवार पदमा कुनै एकाघर पारिवारिक व्यक्ति ल्याउन नपाउने व्यवस्था गरिएको बताए ।

तर, सहकारीमा सञ्चालक, व्यवस्थापक, लेखा सुपरिवेक्षण समिति, कर्जा व्यवस्थापन समिति जस्तो महत्त्वपूर्ण निकायमा एकै घरका पारिवारिक व्यक्तिहरूलाई जिम्मेवारी दिनु गलत भएको उनले बताए । अझ बढी सहकारीमा राजनीति भएकाले समस्या आएको उनको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस