युवा परिषद्ले बागमतीका ५ हजार जनालाई सीप सिकाउँदै « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

युवा परिषद्ले बागमतीका ५ हजार जनालाई सीप सिकाउँदै


२५ बैशाख २०८१, मंगलबार


काठमाडौँ । हेटौँडामा दोस्रो प्रदेश युवा सम्मेलन आयोजना हुँदैछ । सामाजिक विकास मन्त्रालयअन्तर्गतको प्रदेश युवा परिषद् कार्यालयको वार्षिक कार्यक्रमअन्तर्गत २८, २९ र ३० वैशाखमा युवा सम्मेलन हुन लागेको हो ।

३ दिने कार्यक्रममा बागमती प्रदेशका १३ जिल्लाका युवा सहभागी हुने प्रदेश युवा परिषद् बागमती प्रदेशका कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंले जानकारी दिए । सम्मेलनमा २ सय जनाभन्दा बढी १६ वर्षदेखि ३० वर्ष उमेर समूहका युवा सहभागी हुनेछन् ।

सम्मेलनमा युवाको ज्ञान सीप, सृजना र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विविध कार्यक्रम आयोजना गर्न लागिएको कार्यकारी उपाध्यक्ष चौलागाईंले बताए । युवा सम्मेलनमा ‘शिक्षामा कहाँ छ समस्या ?’, ‘नीति, राजनीति र समृद्धि’, ‘डिजिटल साक्षरता: प्रविधि, अवसर र सम्भावना’, ‘नवप्रवर्तन र उद्यमशीलता: नीति र निरन्तरता’, ‘विदेशमा आर्जित ज्ञान र सीप: देशमा लगानीको सम्भावना’ र मुख्यमन्त्रीसँग कुरालगायत विषय वस्तुमाथि छलफल हुने परिषद्ले जनाएको छ ।

युवा सम्मेलन पश्चात् २०८१ लाई ‘युवा सीप वर्ष’ घोषणा गर्ने तयारी गरिएको उपाध्यक्ष चौलागाईंले बताए । प्रदेशका ५ हजार युवालाई सीपमूलक तालिम प्रदान गरी उद्यमशीलतातर्फ अग्रसर गराउने तयारी रहेको उनले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस