डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग


२५ बैशाख २०८१, मंगलबार


महोत्तरी । आफ्नै घर आँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशु बस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् ।

किसानलाई मटिहानी नगरपालिका र हेफर प्रजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ले सोमबार डाले घाँसको बीउ वितरण गरेको हो । विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला-५५०, बकाइनो-१५० र भटमासे-१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताए ।  डाले घाँसको बीउ मटिहानी नगरक्षेत्रका २०० बढी महिला किसानले पाएका छन् ।

आफ्नै घरआगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशु बस्तुका लागि घाँस खोज्न चिन्ता हराएको बीउ लिएका महिला बताउँछन् । ‘प्रतिकूल मौसममा पनि घाँस काट्नुपर्थ्यो” मटिहानी–२ की पशुपालक किसान विमला खत्वे भन्छन्, ‘अब आफ्नो घर नजिकको बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।’ खत्वेजस्तै मटिहानी–३ की  ललितादेवी मण्डल र मटिहानी–९ की बच्चीदेवी साफीले पनि  घरपालुवा पशु बस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस ख्वाउन पाइने बताए । मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरली पाल्दै आएका छन् ।

महिला किसानलाई आय आर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले सघाउ पुर्‍याएको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ । पशुपालनमा लागेपछि उनीहरू आर्थिक रूपमा आत्मनिर्भर भएका छन् । ।मटिहानी नगरपालिकाले बर्सेनि कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । विगत पाँच वर्षदेखि बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नका बीउबिरुवासँगै  प्राविधिक सहयोग पनि प्रदान हुँदै नगरप्रमुख मण्डलले बताए । पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरली पालनमा जुटेका छन् । ‘हामी अब आफै केही गर्न सक्ने भयौँजस्तो लागेको छ’ मटिहानी–२ की पशुपालक किसान सुजिता यादव भन्छन्, ‘परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’

यसैगरी सोमबार नै परियोजनाले सात वटा महिला सहकारी संस्थालाई अभिलेख राख्न सहयोग पुग्ने उद्देश्यले ल्यापटप, प्रिन्टरसहितका सामग्री प्रदान गरेको छ ।  महिला सहकारीलाई उत्पादित फलफूल र तरकारी सुरक्षित राख्न र बजारसम्म पुर्‍याउन ‘क्यारेट’ पनि उपलब्ध भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस