एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन हुँदै « प्रशासन
Logo ५ जेष्ठ २०८१, शनिबार
   

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन हुँदै


२३ बैशाख २०८१, आइतबार


काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु. एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र-२०८६ निष्कासन गर्ने भएको छ । आजदेखि बिक्री खुला गरिएको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने र जेठ २९ गते निष्कासन हुनेछ । 

वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर-आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक नौ प्रतिशत ब्याजदर रहने र अर्धवार्षिक रूपमा ब्याज भुक्तानी गर्ने गरी ऋणपत्र ल्याइएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । घटीमा रु. १० हजार र बढीमा रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी बचतपत्र खरिद गर्न सकिनेछ ।

“यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको छ महिना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपाली नागरिकले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोराछोरी मात्र) को नाममा खरिद गर्न सकिनेछ”, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले भनेको छ । 

यो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत सकिनेछ । जुनसुकै समयमा दोस्रो बजारमार्फत खरिदबिक्री गर्न मिल्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस