२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माननीय मन्त्रीज्यूका बेलगाम सचिवालयहरू !

अ+ अ-

नेपालमा संघीय सरकारका मन्त्रीहरूको दैनिक कार्यमा सहयोगको लागि सरकारी कर्मचारीहरूको टिम भएको निजी सचिवालय तथा मन्त्रीको इच्छ्याइएका व्यक्तिहरू भएको स्वकीय सचिवालयको कानुनी व्यवस्था छ । मन्त्रीहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०४९ मा निजी सचिवालयको व्यवस्था छ भने स्वकीय सचिवालयका कर्मचारी, तिनका सुविधा र सङ्ख्याको व्यवस्था अर्थ मन्त्रालय कार्य सञ्चालन निर्देशिका २०७७ को नियम ७.१.९ मा छ ।  

निजी सचिवालयमा मन्त्रीको रुचि र सहमतिमा  मन्त्रालय भित्रै कार्यरत वा देशभरिका जुनसुकै सरकारी सेवामा (निजामती वा अन्य सरकारी सङ्घ संस्थानमा कार्यरत वा शिक्षक लगायत) कार्यरत कर्मचारी रहन सक्छ । जसमा सामान्यतया उपसचिव वा सो सरहको कर्मचारीको नेतृत्वमा अधिकृत, ना.सु., कम्प्युटर अपरेटर, कार्यालय सहयोगी र सवारी चालक समेत गरी कम्तिमा पाँच जनाको टिम हुन्छ । त्यसै गरी स्वकीय सचिवालयमा मन्त्रीबाटै नियुक्त उप स्वकीय अधिकृत (उपसचिव सरह) सहित स्वकीय अधिकृत एक स्वकीय प्रशासन सहायक एक हलुका सवारी चालक दुई तथा कार्यालय सहयोगी दुई जनाको गरी राज्य कोषबाट तलब भत्ता पाउने गरी सात जनाको स्वकीय सचिवालय हुन्छ ।

निजी सचिवालयका कर्मचारीहरू मन्त्रीज्यूको आगमन पश्चात् निजी सचिवालयमा सरुवा भई आउँछन् र मन्त्रीज्यू पदबाट हटे पश्चात् आ-आफ्नो दरबन्दीमा फिर्ता भएर जान्छन् भने स्वकीय सचिवालयका कर्मचारीहरू मन्त्रीज्यूले नियुक्त गरेको दिन देखी कार्य गरी मन्त्रीज्यू पदमुक्त भए सँगै स्वतः पदमुक्त हुने कानुनी व्यवस्था छ । 

निजी सचिवालयको मुख्य कार्य भनेको मन्त्रीलाई मन्त्रालयको कार्यमा प्रचलित ऐन कानुन र विधि बमोजिम सहयोग गर्नु नै हो । सरकारी कामकाजको तौरतरिकाको जानकारी गराउनु हो । सरकारी भेटघाटमा सहभागी भइ अभिलेख राख्नु, प्रतिवेदन सङ्कलन गर्नु हो । प्राप्त अभिलेखहरू सुरक्षित राख्नु हो  । मन्त्रिपरिषद्मा लैजाने विषयहरूमा सहयोग गर्नु तथा कार्यालय समय भित्रका आगन्तुक भेटघाटको व्यवस्थापन गर्नु आदि प्रमुख कार्य हुन् । मन्त्रीज्यूलाई आवश्यक सवारी साधन, मसलन्द, राष्ट्रिय तथा अन्तराष्ट्रिय भ्रमण व्यवस्थापन, कार्यकक्ष व्यवस्थापन, सुरक्षा लगायतका विषयमा मन्त्रालयसँग समन्वय गरी कार्य गर्नु निजी सचिवालयको कार्य हो । यसरी मन्त्रालयको सचिव र सिङ्गो मन्त्रालयका महाशाखा, शाखाहरूसँग सेतुको कार्य गरी निजी सचिवालयले मन्त्रीलाई सहयोग गर्छ । सरकारी कर्मचारीको समूह भएको हुँदा निजी सचिवालयले मन्त्रीलाई खासगरी कार्यालय समयमा र मन्त्रालयमा बसेर सहयोग गर्छ ।  

त्यसैगरी स्वकीय सचिवालयको कार्य मन्त्रीको निर्वाचन क्षेत्र, पार्टी पङ्क्ति र कार्यकर्ता, जनता सँगको भेटघाट व्यवस्थापन गरी सहयोग गर्नु हो । कार्यालय समय अघि पछि, मन्त्री निवास तथा निजी निवास त्यसैगरी निर्वाचन क्षेत्रमा समेत रही मन्त्रीलाई सहयोगको लागि स्वकीय सचिवालयको व्यवस्था गरिएको हो । खासगरी कार्यालय समय अघिपछि र सिंहदरबार बाहिर निजी सचिवालयले मन्त्रीको भेटघाट व्यवस्थापन गर्न नसक्ने अवस्थामा स्वकीय सचिवालयले सो कार्य गर्ने गर्दछ ।

मन्त्रीज्यूको भेटघाट व्यवस्थापन गर्नु, भ्रमण तालिका बनाउनु, राजनैतिक प्रकृतिका मन्तव्यहरू तयार गरी दिनु, दैनिक कार्यतालिका बनाइदिनु, मन्त्रालयसँग समन्वय गरिदिनु, निर्णय भएका विषयहरू सिध्रताका साथ कार्यान्वयन गर्नु गराउनु लगायत हर तरहले मन्त्रीज्यू र वहाँको पार्टीलाई सफल पार्दै राष्ट्रसेवक गर्ने स्थान हो त्यो । मितव्ययिता, सदाचारिता, नम्र स्वभाव, समन्वय क्षमता, बौद्धिकता र गोप्यता अपेक्षित हुन्छ स्वकीय सचिवालयमा बस्नेको । 

अव प्रश्न उठ्छ माननीय मन्त्रीज्यूका सचिवालयहरूले माथि उल्लेखित कार्य मात्र गरेका छन् त ? माथि उल्लेखित आचरण र व्यवहार छ त सचिवालयका कर्मचारीहरूको ? आम जनता, कर्मचारी तथा सेवाग्राहीको जवाफ छ, विल्कुलै छैन । 

पछिल्लो केही वर्ष देखी माननीय मन्त्रीज्यूका सचिवालयहरू सहयोगी कम साँढे जस्ता बेलगाम हुन थालेका छन् ।    

पञ्चायती व्यवस्था, संवैधानिक राजतन्त्र, लोकतन्त्र हुँदै अहिले सङ्घीय गणतन्त्रमा नेपाल आई पुग्दा सङ्घीय माननीय मन्त्रीज्यूका खासगरी स्वकीय सचिवालयहरू यति बेलगाम, नियम कानुन नमान्ने हठधर्मी तथा अपारदर्शी हुन थालेका छन् की भनी साध्य छैन । आज तपाईँ सिंहदरबारको अधिकांश मन्त्रालयहरूमा जानुस्, निजी सचिवालय सानो कोठामा थन्किएको छ भने स्वकीय सचिवालय जम्बो हुन थालेको छ । मन्त्रालयमा आवश्यकै नपर्ने स्वकीय सचिवालयलाई पछिल्लो समय झन् झन् शक्तिशाली बनाईन थालिएको छ । मन्त्रीज्यूकै नाम भजाएर मन्त्री तथा तिनले प्रतिनिधित्व गरेको दललाइनै बदनाम गर्ने कार्य समेत हुन थालेको छ स्वकीय सचिवालयहरूबाट । केही समय अघि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रीले सरुवामा व्यापक चलखेल गरेको गुनासो आएपछि आफ्ना स्वकीय सचिवालयका कर्मचारीलाई हटाएको विषय पत्रिकाहरू मार्फत सार्वजनिक भएको थियो ।  

स्वकीय सचिवालयलाई २०५५ साल अगाडि मन्त्रालयमा कार्यकक्ष भएको पाइँदैन । २०६० साल सम्म पनि स्वकीय सचिवालयका कर्मचारीहरू मन्त्रीकै झन्डावाला गाडीमा आउजाउ गर्ने गर्थे । छुट्टै सवारी साधन दिने त कल्पनै थिएन उ बेला । अहिले त यस्तो अवस्था आइसक्यो की स्वकीय सचिवालयहरू मन्त्रालयका महाशाखाहरू भन्दा शक्तिशाली छन् । 

अनि ऐन कानुनले तोके भन्दा बढी स्वकीय नियुक्ति गर्नाले मन्त्रालयलाई कार्यकक्ष, फर्निचर, कम्प्युटर लगायत कार्यालय सामाग्री पुर्‍याउनै धौ धौ हुने गरेको छ । अहिले नियममै नभएको प्रेस संयोजक र सल्लाहकार राख्ने फेशन भएको छ मन्त्रालयहरूमा । सूचना तथा प्रविधि मन्त्रालय बाहेक त्यस प्रकारको नियुक्तिको कुनै कानुनी व्यवस्था नै छैन नेपालमा । अघिल्लो सरकारका एक जना चकलेटी मन्त्रीज्यूको सचिवालयमा त वैतनिक अवैतनिक सल्लाहकार समेत गरी एक दर्जन बढीको स्वकीय सचिवालय थियो । 

नियमतः मन्त्रालयमा सहसचिव भन्दा तल्लो पदलाई व्यक्तिगत सवारी सुविधा छँदै छैन । सवारी साधनको उपलब्धता अनुसार एक भन्दा बढी उच्च कर्मचारी मिलेर घरबाट कार्यालय सम्म आउजाउ गर्ने सम्मको सवारी साधनको व्यवस्था भएकोमा निजी तथा स्वकीय सचिवालयका शाखा अधिकृत तथा नायव सुब्बा सम्मले चार पाङ्ग्रे सवारी साधन प्रयोग गर्ने गरेका छन् । सचिवालयबाट सवारी साधनको यति धेरै माग हुन्छ की व्यवस्थापन गर्नै कठिन हुने गरेको छ मन्त्रालयहरूलाई । मोटर साइकल नयाँ खरिद गर्न पाएको छैन सचिवालयलाई चाही हाल्छ । ल्यापटप राम्रा जति सबै उतै । श्रोत साधनहरूको यति धेरै माग छ की थामिनसक्नु छ । तर यो हदको बेथितिमा कोही बोल्नै चाहँदैन । सवारी साधनका, मसलन्द सामानका, चिया नास्ताका सानातिना कुरा मन्त्रीज्यू सम्म के पुर्‍याउनु भन्यो तर यस्तै सामान्य कुराले सिङ्गो मन्त्रालयलाई गाह्रो परिरहेको हुन्छ । 

फेरी स्वकीय सचिवालयका कर्मचारीहरूलाई मन्त्रीज्यूको सहायक भएकोमा यति घमन्ड हुन्छ की बाफ रे बाफ । हुङ्कार गर्दै सबै कर्मचारीलाई गाली गरेर बसिरहेका हुन्छन् धेरै जसो । म नै सवै थोक जस्तो गर्छन् । कर्मचारीतन्त्र बारेको ज्ञान, कानुन, नियम, विधि, प्रक्रिया, मर्यादा केही मतलब छैन । मैले भने पछि सचिवले पनि मान्नु पर्छ भन्ने मानसिकता हुन्छ । फेरी आफू छन् उपसचिव सरहका तर प्रथम श्रेणीका महाशाखा प्रमुखको रूपमा कार्यरत वरिष्ठ सहसचिवहरू सम्म लाई ठाडै हप्काउँछन् । भोली सम्म रहने त तिनै सहसचिवहरू, सचिवहरू हुन् । सहकार्य तिनीहरू सँग नै गर्ने हो भन्ने अलिकति पनि ख्याल गर्दैनन् ।

केही वर्ष अघि पर्यटन मन्त्रालयमा नियुक्त भई आउनु भएका भलाद्मी स्वभागका माननीय मन्त्रीज्यूका स्वकीय उपसचिवले मागेको केही कुरा बेलैमा नपाए पछि सचिवलाई बोलाउनुस् यहाँ भनी स्वकीय ज्यूले कार्यालय सहयोगीलाई अह्राए । अव स्वकीय सचिवले सचिवलाई त्यसरी बोलाएर पठाए भन्दैमा सचिव ज्यु आउने कुरो त भएन । ती सचिव निजामती प्रशासनमा साह्रै कडा, हक्की स्वभावका र ईमान्दार मानिन्थे । सचिवले मन्त्रीलाई नै कस्तो स्वकीय राख्नु भएको मन्त्री ज्यू ?  एउटा उपसचिव सरहको तपाईँको स्वकीयले मलाई सचिवालयमा बोलाउने ? खटन पटन गर्ने ? भनेर मन्त्रीलाई नै सचिवको मर्यादा बारे सचेत गराउनु परेको थियो ।

पछिल्लो समय स्वकीय सचिवालयले मन्त्रालयको समग्र खरिद प्रक्रिया, सरुवा बढुवा तथा वैदेशिक भ्रमणमा पनि हस्तक्षेप गर्न थालेको छ । जुन बिलकुलै गलत अभ्यास हो ।

सामान सप्लायर्स तथा निर्माणकर्ताहरू स्वकीय सचिवालय मार्फत खरिद ऐन नियमावली विपरीतका खरिद तथा निर्माण त्यसैगरी परामर्श सेवाका लागि दबाब दिन थालेका छन् । त्यसले समग्र मन्त्रालयको कार्य प्रणालीमा नै अवरोध हुन थालेको छ । स्वीकृत बजेट, खरिद गर्ने विधि, खरिद शीर्षक बारे केही ज्ञान नभएका वा अल्प ज्ञान भएकाहरूले दिने दबाबले लगभग सबै मन्त्रालय हैरान छन् तर कोही बोल्दैनन् । आर्थिक वर्षको सुरु मै खरिद सम्बन्धी बोलपत्र माग गरी टेन्डर प्रक्रियाबाट खरिद कार्य हुन्छ । केही स्वकीय सचिवालयले सप्लायर्सहरुको कुरामा लागेर बजेटै नभएको शीर्षकमा खरिदको लागि दबाब दिनाले सम्बन्धित फाँटका कर्मचारी सरुवा भएर हिँड्ने सम्मको स्थिति छ अहिले । शीर्षक मै नभएको अथवा न्यून बजेट भएको शीर्षकबाट अनियन्त्रित खरिद भए पछि भुक्तानी हुन सक्ने कुरै भएन । अनि भुक्तानी हुन नसके पछि जसरी पनि भुक्तानीको लागि फेरी दबाब सुरु हुन्छ । अनि आर्थिक प्रशासन, कर्मचारी प्रशासन र भन्डार शाखामा कार्यरत सबैलाई तनाव सुरु हुन्छ । 

मन्त्रालयमा जिन्सी मालसामान खरिद सम्बन्धी वार्षिक खरिद योजना हुन्छ । त्यस अनुसार बजेट विनियोजन भई खरिद ऐन बमोजिम टेन्डर/घटाघटबाट मालसामान खरिद गरिएको हुन्छ । अव एक वर्षमै पटक पटक मन्त्री फेरीन्छन । स्वकीय सचिवालय पनि पटक पटकै बन्ने नै भो । बजेट छ छैन सचिवालयलाई के मतलब । माग गरीदिन्छन । एज्युकेटिभ डायरी, भि ७ पेन, पेन ड्राइभ, छाता, लेदर ब्याग, ट्रली ब्याग, रेनकोट, मास्क, स्यानिटाइजर जस्ता धेरै पटक खरिद नहुने किसिमका सामानहरू अत्याधिक माग भइदिनाले समस्या हुने गरेको छ । छैन भन्नु हुँदैन बिचरा अनङ्कित तहको भन्डार सहायकलाई सरुवाको धम्की आइहाल्छ । सचिवालय मार्फत मन्त्रीज्यूले भने पछि सरुवा गर्नै पर्ने अवस्था आउँछ कर्मचारी प्रशासनलाई पनि । पछिल्लो दुई वर्षमै सङ्घीय मामिला तथा सामान्य प्रशासन, बन, पर्यटन, शहरी विकाश तथा महिला तथा बालबालिका मन्त्रालयमा सचिवालयकै दबाब थेग्न नसकी आन्तरिक व्यवस्थापन हेर्ने थुप्रै कर्मचारीहरू फेरिएका प्रशस्त उदाहरणहरू छन् सिंहदरबारमा ।  

स्वकीय सचिवालयमा कार्यरतहरूलाई मन्त्रालयमा काम गर्दा भोलीका दिनमा आइपर्ने कुनै किसिमको जस वा अपजस केही लिनु दिनु नपर्ने हुँदो रहेछ । सफल वा असफल जे भए पनि माननीय मन्त्री र मन्त्रालयले भोग्दो रहेछ । स्वकीय सचिवालयलाई त हाइसन्चो । धेरै अगाडिको के कुरा गर्नु । गणतन्त्र पछिको कुनै पनि सरकारमा मन्त्री भइसकेका राजनैतिक व्यक्तित्वको जस र अपजसमा कुनै स्वकीयको नाम सुन्नु भएको छ तपाईँले ? अहँ छैन । होस पनि कसरी । सहयोगीले जस र अपजस लिने कुरो पनि त भएन नि । 

पहिले पहिले मन्त्रीको स्वकीयमा पार्टीले खटाउने गरेको हुन्थ्यो । जिल्ला कमिटीमा बसेका अझ त्यो भन्दा माथि बसेकाहरू स्वकीयमा बस्थे । पार्टी, कार्यकर्ता र मन्त्रीको सेतुको रूपमा काम गर्थे । मन्त्री सँगै मन्त्रालयमा आउजाउ गर्थे । सादा जीवनशैली हुन्थ्यो । अहिले परिस्थिति उल्टो छ । बरु माननीय मन्त्रीज्युहरु निवृत्त भएर आफ्नो आफ्नो पार्टी राजनीतिमा फर्कनु हुन्छ तर स्वकीय भएकाहरू सिंहदरबारको रस पाएर सिंहदरबारमै घुमी हिँड्ने हुन्छन् । हेर्दा हेर्दै सरुवा, ठेक्का, प्रोजेक्ट, विकाश योजनाहरूमा हस्तक्षेप गर्ने भइसक्छन् ।

अघिल्लो सरकार विघटन हुनु अघि स्वकीय सचिवालयसँग जोडिएर काम गरेका मेरा एक पाका अनुभवी कर्मचारी साथीले अव मन्त्रालयको भन्डार शाखामा कामै नगर्ने भनी सरुवा मिलाए । भएछ के भने नयाँ मन्त्री नियुक्त भई आउना साथ एक स्वकीयले गाडी माग्न थालेछन् । मन्त्रालयका एक जना महाशाखा प्रमुख (सहसचिव) सरुवा भइ गएको तर नयाँ नआएको समय रहेछ । महाशाखा प्रमुखले पदेन प्रयोग गर्ने गाडी नै लगिदिए तिनै स्वकीयले । अव भो फसाद ! मन्त्रालयमा धेरै वटा गाडी पनि थिएन । स्वकीयलाई व्यवस्था गरेको गाडी बिग्रिएर बन्दै थियो । उनी त रिसाएर मन्त्री आउदैछन् भन्ने थाहा थिएन ? यसरी गाडी बिगारेर राख्ने ? एउटा स्कुटर सम्म व्यवस्था नगर्ने ? हामीलाई असहयोग गर्ने ? सरुवा गर्दिम् ?  पो भन्न थालेछन् । उता नयाँ आएका महाशाखा प्रमुखले पनि मेरो गाडी किन स्वकीयलाई दिएको ? कसको आदेशले काम गरेको ?  भनी सातो खाएछन् । यसरी दोहोरो खप्की खाए पछि ती साथी के बस्थे मन्त्रालय । सरुवा गरी हिँडेछन् ।  

सचिवालयका कर्मचारीका इच्छा पनि उदेक लाग्दा छन् नेपालमा । मन्त्रालय लगायत देशका सबै संघीय कार्यालयहरूमा शाखा अधिकृत पद भन्दा मुनीको पदको नेमप्लेट राख्ने प्रचलन छैन । शाखा अधिकृत र सो भन्दा माथिको पदलाइ राजपत्रमा प्रकाशन हुने पद (राजपत्राङ्कित) भएकोले सम्मान स्वरूप पदीय हैसियत सहितको नेमप्लेट राखिने अभ्यास पुरानै हो । तर स्वकीयहरूलाई त्यसको के मतलब । एक जना स्वकीय प्रशासन सहायक भन्ने नायव सुब्बा सरहको पदमा नियुक्त भएका महोदयले नेमप्लेट टाँसको लागि ठुलै रहर गरे । एक दुई पटक त शाखा अधिकृत भन्दा मुनीको पदमा नेमप्लेट राखिने परम्परा नभएको पनि भनियो । तर के गर्नु । हैरान गरेपछि ठुलो नेमप्लेट राखियो श्री फलानो, स्वकीय प्रशासन सहायक, भित्र/बाहिर/व्यस्त ! लौ जा, त्यस्ता नेमप्लेट अझै पनि हाम्रा कुनै कुनै मन्त्रालयहरूमा देख्न पाइन्छ । हेर्दा रमाइलै हुन्छ । 

सेवा सम्बन्धी विषयमा ज्ञान भएका उच्च अधिकारीहरू सहभागी हुनु पर्ने अन्तराष्ट्रिय सभा सम्मेलनमा कुनै ज्ञान र अनुभव नै नभएका सचिवालयका कर्मचारीहरू गइदिनाले देशकै वेइज्जेत भएका बग्रेल्ती उदाहरणहरू सुनिन्छन् अचेल सिंहदरबारमा । माननीय मन्त्रीकै आफन्त रहेका सचिवालयका एक व्यक्ति अन्तराष्ट्रिय सम्मेलनमा अनाधिकृत रूपमा गएको विषयमा एउटा विकासे मन्त्रालयलाई राष्ट्रिय सतर्कता केन्द्रले विवरण माग गरेको विषय केही अघि एउटा राष्ट्रिय दैनिकमा खबर प्रकाशन भएको थियो । 

ल्यापटप, आइप्याड, मोबाइल तथा सवारी साधनहरू बुझ्ने तर मन्त्री फेरिए पनि स्वकीय सचिवालयले ती जिन्सी सामान फिर्ता नदिने रोग पनि उस्तै छ । कतिपय मन्त्रालयमा त महालेखा परीक्षकको प्रतिवेदनमै सचिवालयमा कार्यरत व्यक्तिको नामै टिपेर असुल उपरको लागि लेखेको पनि देखिएको छ । एउटा मन्त्रालय मातहतको परियोजनाका स्टोर हेर्ने मित्रले मलाई भने अनुसार उनको परियोजनाबाट मन्त्रालयको सचिवालयमा गएका मोटरसाइकलहरू पाँच पटक मन्त्री फेरिई सके तर फिर्ता आएको छैन रे । बाफ रे बाफ  । यस्तो छ ताल । 

अहिले जुनसुकै मन्त्रालयको सचिवालयले गर्ने सबैभन्दा बढी विवादित कार्य भनेको सरुवामा हस्तक्षेप नै हो । त्यस माथि निजामती सेवा ऐन समयमा जारी नभइदिनाले तजबिजी सरुवामा मलजल भई रहेको छ । यसले केही मन्त्रालयका सचिवालय झन् बदनाम भइरहेका छन् ।  यसो सौचौं त । सचिवालयबाट आएको लिस्ट अनुसार सरुवा भएका केही थान ना.सु., अधिकृत वा उपसचिवले मन्त्री वा पार्टी वा देश प्रति कति योगदान गर्लान् । अहँ केही गर्दैनन् । बरु नियमित प्रक्रियाबाट सरुवा भएकाले नै गर्छन् । 

भनिन्छ कर्मचारीतन्त्र असाध्यै अवसरवादी हुन्छ । नेपालको कर्मचारीतन्त्र त त्यसै पनि राजाको शासनकालमा स्थापना भई विकास भएको संस्था हो । मन्त्री हुनु अघि सम्म चिनजान समेत नभएकाहरू मन्त्री हुना साथ म त हजुरको मान्छे हो नि भन्दै सचिवालय पुग्छ । अनि सचिवालयका साथीहरू पनि मन्त्रीलाई सहज हुन्छ भन्दै कर्मचारीतन्त्रले गर्ने खरिद प्रक्रिया, वैदेशिक भ्रमण तथा सरुवा बढुवा जस्तो विशुद्ध प्रशासनिक कार्यमा अनावश्यक चासो र हस्तक्षेप गर्न थाल्छन् । यसले गर्दा स्थिर मानिने कर्मचारी तन्त्र नै अस्थिर हुन गई रहेको छ । 

भर्खरै नियुक्त हुनुभएका माननीय मन्त्रीज्यूहरूले यो समस्यालाई बेलैमा सम्बोधन गर्नु जरुरी छ । 

खासगरी आफ्नो सचिवालय कस्तो बनाउने भन्ने माननीय मन्त्रीज्यूकै हातमा भएको हुँदा पढेलेखेका, सरकारी प्रशासन बुझेका, राजनीतिमा जिल्ला स्तरको क्षमता बनाइसकेका, कम से कम सहसचिव-सचिव सँग समन्वय/सहकार्य गर्न सक्ने, कम्प्युटर र अङ्ग्रेजीमा दक्ष, मन्त्रीका हरेक भेटघाटहरू व्यवस्थापन गर्न सक्ने, सरकारी सुविधा तथा सम्पत्तिको लोभ नगर्ने मानिसहरूको समूह राख्ने प्रयास गर्नु पर्छ ।

सम्माननीय प्रधानमन्त्रीज्यूबाट हालै आफ्नो सचिवालय चुस्त बनाउने, अनावश्यक दरबन्दी घटाउने र मन्त्रिपरिषद् कार्यालय चुस्त दुरुस्त राख्ने कुरो आएको छ । यो स्वागत योग्य कुरो छ । यसले समग्र मन्त्रालयहरूमा रहेको अनावश्यक सचिवालय संख्या र लागत घट्ने छ र विकृतिहरू हट्ने छ भन्ने अनुमान गर्न सकिन्छ । आफू मातहतको सचिवालय बनाउने सन्दर्भमा सचिवालयको संख्या, सहयोगीहरूको योग्यता र दक्षता तथा त्यस्ता सहयोगीहरूबाट सम्पादन भएका कार्यको परीक्षण स्वयं माननीय मन्त्रीज्यूहरूले गर्ने हो ।

आगे माननीय मन्त्रीज्यूहरूको जे इच्छा !

प्रतिक्रिया दिनुहोस