काठमाडौँ । वेस्ट इन्डिजका राष्ट्रिय टोली प्रशिक्षक डारेन सामीले ‘ए’ टोलीको नेपाल भ्रमणले विश्वकपका लागि मजबुत टोली छनोट गर्न सजिलो हुने बताएका छन् ।
१५ सदस्यीय वेस्ट इन्डिज ‘ए’ टिम घोषणापछि आईसीसीसँग कुराकानी गर्दै सामीले भनेका छन्,‘प्रशिक्षणको दृष्टिकोणबाट हेर्दा हामी ठिक समयमा नेपाल भ्रमण गर्दैछौं । यसले खेलाडीको भूमिका र विशेषज्ञतालाई बुझेर मजबुत विश्वकप टोली छनोट गर्न अवसर दिनेछ ।’
वेस्ट इन्डिजले आन्द्रे फ्लेचर, फाबियान आलेन, जोनसन चार्ल्स, हेडेन वाल्स जस्ता टी-२० स्पेसलिस्ट खेलाडीलाई ‘ए’ टीममा राखेर नेपाल पठाउँदै छ ।
वेस्ट इन्डिजका रोभमन पावेल, आन्द्रे रस्सेल, निकोलास पुरान, कायल मेयर्स, सेरफन रुथरफोर्ड, रोमारियो सेफर्ड, अल्जारी जोसेफ, सिमरन हेटमयर जस्ता खेलाडीहरू अहिले इन्डियन प्रिमियर लिग खेलिरहेका छन् । नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’सँग ५ वटा टी-२० शृङ्खला खेल्दैछ ।
वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल आउन लागेको हो । नेपाल र वेस्ट इन्डिज दुवैले यो शृङ्खलालाई विश्वकप तयारीका रूपमा हेरेका छन् ।