‘कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय’ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

‘कम्युनिष्ट पार्टी स्थापनामा कर्माचार्यको भूमिका अतुलनीय’


१० बैशाख २०८१, सोमबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्न नरबहादुर कर्माचार्यको योगदान अतुलनीय रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रममा बोल्दै उनले कर्माचार्य नेपाली कम्युनिष्ट आन्दोलनको धरोहर भएको बताए । 

अध्यक्ष नेपालले अरु पार्टीले नेपाली समाजलाई रूपान्तरण गर्न नसक्ने उल्लेख गर्दै क्रान्तिकारी सिद्धान्तले मात्र समाजलाई रूपान्तरण गर्न सकिने बताए । मुलुकमा लोकतन्त्रले मात्र नपुग्ने भन्दै उनले समाजवादी लोकतन्त्रसम्म पुग्नुपर्ने आवश्यकता रहेको बताए । 

नेपालले लोकतन्त्रको संवाहक कम्युनिष्ट पार्टी मात्र रहेको अध्यक्ष नेपालको भनाइ थियो । जनताको विकास र स्वाभिमानको पक्षलाई ध्यान दिँदै देशको भाग्य र भविष्यको फैसला कम्युनिष्टले गर्दछ भन्ने मान्यतालाई अझ उजागर गर्नुपर्ने उनले उल्लेख गरे ।  कम्युनिष्ट आन्दोलनप्रति जनताको ध्यान आकर्षित गर्न रचनात्मक भूमिका खेल्नुपर्ने उनले बताए । 

“कम्युनिष्टका शत्रु र मित्र हामीले छुट्टाउनुपर्दछ”, अध्यक्ष नेपालले भने, “मित्रलाई एकताबद्ध बनाउने र शत्रुलाई उपयोग गर्न आफ्ना पक्षमा ल्याउनुपर्दछ ।” उनले नेपालको राजनीति जटिल रहेको उल्लेख गर्दै सत्ताका लागि गठबन्धन टुट्ने फुट्ने क्रम चलिरहेको बताए ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्ने मध्येका एक नरबहादुर कर्माचार्यको योगदानलाई बिर्सन नहुने बताए । 

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता लिलामणि पोखरेल, प्रतिष्ठानका सल्लाहकार डा.महेश मास्के, सहिद प्रतिष्ठानका अध्यक्ष धर्मशिला चापागाईँलगायतले कर्माचार्यले मुलुकको कम्युनिष्ट आन्दोलनमा खेलेको भूमिकाबारे चर्चा गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस