कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले अदालतलाई प्रभाव पार्न बैठक बहिष्कार गरेको बताएका छन् । काँग्रेस र राप्रपाले शुक्रबार बसेको प्रदेश सभा बैठक बहिष्कार गरेका कारण बैठक सञ्चालन हुन सकेन । मुख्यमन्त्री अधिकारीले प्रतिपक्षीले बैठक बहिष्कार गरेर अदालतलाई प्रभावित पार्न खोजेको आरोप लगाएका हुन् ।
सभामुखले अनिश्चितकालसम्मलाई स्थगित गरेका छन् । सोही क्रममा संचारकर्मीसँग प्रतिक्रिया दिँदै मुख्यमन्त्री अधिकारीले सरकारविरुद्ध सर्वोच्चमा मुद्दा रहेको र सोही मुद्दालाई प्रभावित गराउन बैठक बहिष्कार भएको टिप्पणी गरेका थिए ।
गण्डकी प्रदेश सभाको बैठक अर्को सूचना आउँदासम्मलाई स्थगित भएको छ । शुक्रबार कार्यसूची सार्वजनिक गरेपछि बैठक केहीबेर बसेको थियो । बैठकमा काँग्रेस र राप्रपा सहभागी थिएनन् ।
प्रतिपक्ष दलले बैठक नै बहिष्कार गरेपछि अनिश्चितकाल सम्मका लागि बैठक स्थगित गरिएको सभामुख कृष्णप्रसाद धितालले जानकारी गराएका थिए ।
दिउँसो तीन बजे बस्ने भनेको बैठक चार बजे बसेको थियो । काँग्रेसले बैठक बहिष्कार गर्ने भनेर सभामुखलाई पत्र बुझाएर हिडेपछि कार्यव्यवस्था परामर्शका बैठकमा समेत सहभागी भएन । कार्यव्यवस्थाको बैठकमा सत्तापक्ष एमाले–माओवादी मात्र सहभागी थिए । उक्त बैठक पनि लामोसमयसम्म चलेको थियो ।