काठमाडौँ । दोस्रो गणित अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौँमा हुने भएको छ । नेपाल गणित समाज, त्रिभुवन विश्वविद्यालय र काठमाडौँ विश्वविद्यालयको संयुक्त आयोजना सम्मेलन हुन लागेको हो ।
नेपाल संस्कृत विश्वविद्यालय, साउथ एशियन विश्वविद्यालय (भारत) र इस्ट चाइना युनिभर्सिटी अफ टेक्नोलोजी (चीन) को समेत सहकार्यमा गणित र यसको उपयोगितामा केन्द्रित रही दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको छ ।
आइसीएमए २०२४ नाम दिइएको उक्त अन्तराष्ट्रिय सम्मेलन आउँदो २०८१ मंसिर २८ देखि ३० गतेसम्म काठमाडौँमा हुने नेपाल गणित समाजका सदस्य तथा उक्त सम्मेलनका कन्भेनर डा. जीवन काफ्लेले बताए ।
त्रिभुवन विश्वविद्यालय गणित केन्द्रीय विभागका प्रमुख प्रा. डा. चेतराज भट्ट र नेपाल गणित समाजका सभापति प्रा. डा. नारायणप्रसाद पहारी अध्यक्ष रहेको सम्मेलनका कन्भेनर काठमाडौँ विश्वविद्यालयका प्रा. डा. दिलबहादुर गुरुङ, नेपाल संस्कृत विश्वविद्यालयका प्रा. डा. दिनेश पन्थी र त्रिभुवन विश्वविद्यालयका डा. जीवन काफ्ले रहेका छन् ।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वका थुप्रै मुलुकका प्रतिष्ठित विश्वविद्यालयका सम्मानित प्राध्यापकहरूले आ आफ्ना क्षेत्रका नयाँ र मौलिक खोज तथा अनुसन्धानहरू समेत प्रस्तुत गर्ने छन् ।
इटलीबाट प्राध्यापक एन्द्रिया ब्राइड्स, जर्मनीका प्राध्यापक स्टेफेन निकेल, अमेरिकाका प्राध्यापक दिनेश सार्भाटे, भारतका प्राध्यापक नीला नटराज, श्रीलङ्काका प्राध्यापक असेला कुलाटुंगा र भारतकै प्राध्यापक भिके सक्सेनाले समेतआफ्ना अनुसन्धान पत्रहरू प्रस्तुत गर्ने छन् ।
उक्त अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल तथा विश्वका विश्वविद्यालयबाट दुईसयको हाराहारीमा प्राध्यापक तथा शोधार्थीहरूले भाग लिने अनुमान गरिएको छ । उक्त सम्मेलनमा गणित विषयसँग सम्बन्धित नूतन अनुसन्धानमा प्राप्त वैज्ञानिक तथ्यहरू समेत प्रस्तुत हुनेछन् ।