काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले काठमाडौं जिउँदो र क्रियाशील छ भन्ने सन्देशसहित अर्थतन्त्रलाई चलायमान गराउन आज(शनिबार)देखि ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नेगरी खुला गरेको स्पष्ट पारेका छन् ।
नियम र कानुनको पूरा पालना गरी रात्रिकालीन व्यवसाय सञ्चालन गर्न अनुमति दिएको उल्लेख गरेका उनले नागरिकको सुरक्षामा कुनै सम्झौता नहुने दाबी गरे ।
शनिबार नयाँ वर्ष २०८१ को अवसर पारेर काठमाडौँको थापाथलीमा खटिएका ट्राफिक प्रहरी, नेपाल प्रहरीलगायत जनतासँग प्रत्यक्ष भेटेर करिब आधा घण्टासम्म विभिन्न व्यक्तिहरूलाई शुभकामना र हौसला प्रदान गरेका गृहमन्त्री लामिछानेले अर्थतन्त्रलाई चलायमान गर्न ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेको बताएका हुन् ।
लामिछानेले भने, ‘यो सहर जिउँदो जाग्दो र क्रियाशील सहर हो भन्ने कुरा मीले जनतालाई महसुस गराउनुपर्ने हुन्छ । त्यसको यो सुरुआत मात्र भएको हो ।’
उनले ठमेल र दरबारमार्ग क्षेत्रलाई पूर्ण समय व्यवसाय सञ्चालन गर्नलाई नियम र कानून कडाइका साथ पालना गरिने र नागरिकको पूर्ण सुरक्षाको व्यवस्था गरेकाले नागरिकलाई असुरक्षा नहुने दाबी गरे ।
‘नियम र कानूनहरु कडाइ साथ पालना हुन्छन् । नागरिकको सुरक्षामा कुनै पनि कम्प्रोमाइज हुँदैन । यही उद्देश्य लिएर हामी अगाडि बढेका छौं । आगामी दिनमा अरु थुप्रै त्यस्ता कार्यक्रमहरू हामी लिएर आउँछौं’, लामिछानेले भने ।
थापाथलिस्थित फिल्डमा खटिएका ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई मिठाई दिएर शुभकामना दिएका गृहमन्त्री लामिछानेले प्रहरीले नयाँ उत्साहको साथ नयाँ वर्ष सुरुआत गरोस् भन्न हेतु आफूले फिल्डमा पुगेर उत्साह र हौसला प्रदान गरेको धारणा राखेका छन् ।