गीतकार थापा र गायिका देशार सम्मानित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

गीतकार थापा र गायिका देशार सम्मानित


३० चैत्र २०८०, शुक्रबार


मनहरी । भीम विराग सङ्गीत साहित्य कला प्रतिष्ठानले गीतकार राजेन्द्र थापा र गायिका निशा देशारलाई सम्मान गरेको छ । गीतकार थापा रु एक लाख राशिको ‘बिजुली माया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय सङ्गीत पुरस्कार’बाट थापा सम्मानित भएका हुन् । 

वरिष्ठ गीतकार नगेन्द्र थापा, साहित्यकार एलबी क्षेत्री,मञ्जु थापा,गायिका सुशीला मानन्धरले गीतकार थापालाई बिहीबार हेटौँडामा आयोजित कार्यक्रममा नगदसहित दोसल्ला ओढाएर सम्मान गरे । 

यसैगरी, रु २५ हजार राशिको ‘भीम विराग युवा सङ्गीत पुरस्कार २०७९’ बाट गायिका देशार सम्मानित भइन् । 

सम्मानपछि गीतकार थापाले आफूले भोगेको समाज, परिस्थितिलाई गीतका माध्यमबाट व्यक्त गरेको बताए। उनले भने “म बन्दुक बोकेको मान्छे हुँ तर कलम मेरो प्रिय हो, भीम विरागलाई सम्झिरहनेछु, म उहाँको प्रशंसक हुँ ।”

उद्यमी–व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले २०६४ सालमा आमा बिजुलीमाया वन: श्रेष्ठको नाममा  बिजुली माया वन: श्रेष्ठ अन्तर्राष्ट्रिय पुरस्कार स्थापना गरेका हुन् । यसबाट  गीत तथा सङ्गीत क्षेत्रका सशक्त व्यक्तित्व अम्बर गुरुङ, प्रेमध्वज प्रधान, भक्तराज आचार्य, फत्तेमान राजभण्डारीलगायत सम्मानित भएका हुन् । 

प्रतिष्ठानका अध्यक्ष केशवलाल श्रेष्ठले थापा र देशारको योगदानको कदर गर्दै उनीहरूलाई सम्मान गरिएको बताए। प्रतिष्ठानले भाषा, साहित्य, कला र सङ्गीतको उन्नयनमा योगदान गर्नेलाई  पुरस्कार प्रदान गर्दै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस