काठमाडौँ । आइतबार बिहान ८ः४५ बजेको समयमा कलङ्की–बल्खु सडकखण्डस्थित सिता पम्पमा ट्राफिक प्रहरीले मोटर साइकल रोक्यो । कागजपत्र माग्यो र ओभर स्पिड भएको भन्दै जरिवाना काट्यो ।
५२ को स्पिडमा रहेको मोटरसाइकलको गति राडार गनमा ६० देखियो, त्यही आधारमा ट्राफिक प्रहरीले जरिवाना तिरायो । राडार गनमा सवारीको गति बढी देखिएपछि जरिवाना तिर्नु नै पर्ने बाध्यता रहेको फिल्डमा खटिएका ट्राफिक प्रहरी बताउँछन् ।
५२ को स्पिडमा चलाएको मोटरसाइकलको स्पिड राडार गनमा कसरी ६० देखियो ? आशङ्का पैदा भयो । यहाँ कि मोटरसाइकल बिग्रिएको छ कि राडार गन बिग्रिएको छ । यसबारे फिल्डमा रहेको ट्राफिक प्रहरीको जवाफ थियो– ग्यारेजमा गएर बाइक चेक गर्नुस् । हिजोसम्म त्यही स्पिडमा हिँड्दा जरिवाना तिर्नु नपर्ने, तर आज तिर्नुपर्ने । यो विषयले गम्भीर बनायो ।
कलङ्की–कोटेश्वर सडक खण्डलगायत केही स्थानमा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिएको छ । जसमा ओभर स्पिड हुने बित्तिकै केही अगाडी बसेका ट्राफिक प्रहरीले रोक्ने गर्दछन् र जरिवाना काट्ने गर्दछन् । यो कयौँ पटक देखेको कुरा हो ।
कलङ्की (सिता पम्प)मा चेकिङमा रहेको राडार गन र आफ्नो मोटरसाइकलको स्पिड फरक परेपछि सिसिटिभी क्यामरामा के देखिँदो रहेछ भनेर चेक गर्न मन लाग्यो । ५२ को स्पिडमा जरिवाना तिरेको हुनाले परीक्षणका लागि त्यो भन्दा केही बढी ५४-५५ को स्पिडमा मोटरसाइकल चलाए । तर, कोटेश्वरसम्म पुग्दा कुनै स्थानमा ट्राफिकले रोकेन । यसको अर्थ ५५ को स्पिडमा पनि जरिवाना तिर्नु परेन ।
संयोग ग्वार्को–बालकुमारीबिचमा ट्राफिक प्रहरीको अर्को टोली राडार गनसहित उपस्थित रहेछ । त्यहाँ पनि ५५ को स्पिडमा मोटर साइकल चलाएर परीक्षण गरे । फिल्डमा खटिएका प्रहरीलाई सोधे मेरो मोटरसाइकल ओभर स्पिड देखाएन ? उनको जवाफ थियो– ६० भन्दा तलको रेकर्ड हुँदैन सर ।
यसबाट के पुष्टि भयो भने कलङ्कीमा खटिएका प्रहरीले भने जस्तो मोटरसाइकल बिग्रिएको वा ग्यारेजमा लगेर बनाउनुपर्ने स्थिति होइन रहेछ । त्यही आधारमा आइतबारको मोटरसाइकलको स्पिड ५५ कायम रह्यो । यो परीक्षणका लागि थियो ।
अब रह्यो राडार गनको कुरा– सिता पम्पमा खटिएको प्रहरी टोलीलाई भनेकै हो, मोटरसाइकल ५२ को स्पिडमा छ, राडारमा ६० कसरी देखियो ? कतै राडार नै बिग्रिएको त हैन ? त्यहाँ उनले राडार गनबाट खिचेको तस्बिर र स्पिड देखाए । उपकरण बिग्रिएको विषयमा आफूलाई थाहा नहुने उनको भनाइ थियो ।
विभिन्न स्थानमा गरिएको परीक्षणपछि पुष्टि के भयो भने मोटरसाइकलको ५५ को स्पिडमा पनि जरिवाना तिर्नु परेन । अन्य स्थानको सिसिटिभी र राडारले पनि मोटरसाइकलको स्पिड ठिकै रहेको देखायो प्रहरीका अनुसार ।
मोटरसाइकल नबिग्रिएपछि कुरा रह्यो राडार गनको । के राडार गन बिग्रिएको हो ? यो विषयमा बुझ्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रवक्ताको नम्बरमा सम्पर्क गरे । प्रवक्ता एसएसपी जीवन कुमार श्रेष्ठ बिदामा भएका कारण एसपी विश्व खड्काले फोन उठाए । उनले राडार ठिक रहेको प्रतिक्रिया दिए । फिल्डमा खटिएको टोलीले बिग्रिएको रिपोर्टिङ गरेपछि प्राविधिकबाट चेकजाँच तथा मर्मत हुने उनले भनाइ छ ।
त्यसो त ओभर स्पिडका कारण दुर्घटना नहोस् भन्नका लागि काठमाडौँ उपत्यकामा विभिन्न स्थानमा सवारी साधनको गति सीमित गर्न बोर्ड राखिएको छ । ठाउँ ठाउँमा अत्याधुनिक सिसि क्यामरा जडान गरिएको छ । बोर्ड र क्यामराले थेग्न नसकेपछि राडार गन सहितको ट्राफिक प्रहरी टोली पनि सडकमा परिचालन हुने गर्दछ ।
सडक सुरक्षाका लागि खटिएको प्रहरी टोलीले नागरिकलाई सुसूचित गर्ने, सचेत गराउने, ऐन नियमहरू कार्यान्वयनका लागि सहजीकरण गर्नुपर्ने हो कि माछा कति बेला पर्छ भनेर जाल थाप्ने हो ?
अझ गज्जबको कुरा के भने पहिलो पटक ओभर स्पिडको जरिवाना रु ५०० छ । तर आइतबार दिउसो खल्ती एपबाट उक्त जरिवाना तिर्न खोज्दा रु १००० देखायो । पहिलो पटक मै किन रु १००० हजार जरिवाना भनेर सोधखोज गर्दा गत पुस २६ मा जरिवानामा परेको अर्को व्यक्तिले मेरो सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) को नम्बर राखेर आफ्नो ओभर स्पिडको जरिवानाको बिल बुक रिलिज गरेको रहेछ ।
अर्कैको लाइसेन्स नम्बर प्रयोग भएर कसरी बिल बुक रिलिज भयो, छैन त गज्जब ? यसको सुधारका लागि ट्राफिक प्रहरी कार्यालयले प्रक्रिया अगाडि बढाएको जनाएको छ । हेरौँ के कारबाही हुन्छ ।