लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राख्ने तयारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको पनि स्टल राख्ने तयारी


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनका क्रममा प्रदेशस्तरीय योजनाहरू पनि ‘शो केस’ मा राखिने भएको छ ।

अर्थमन्त्री एवं लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुन अनन्तले प्रदेशका योजना पनि समावेश गरिने जानकारी दिए।

अर्थमन्त्री पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका छ जनाभन्दा बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तरक्रिया गरेका थिए।

त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनौट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे।

त्यस क्रममा प्रदेश तहबाट हुने सहभागिता र सम्मेलनमा लगानीका लागि समावेश गर्न सकिने प्रादेशिक स्तरका आयोजनाहरूको तयारीबारे अन्तरक्रिया भएको थियो।

छलफलमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की, मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादव र कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाहरूबारे जानकारी गराए। जलविद्युत, सूचना प्रविधि, कृषि, पर्यटन, उद्योगलगायत क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न सकिने उनीहरूले बताए। निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूले औँल्याएका विद्यमान केही कानूनमा संशोधन तथा विदेशी लगानीकर्तालाई मुनाफा लैजान सकिने आधार तय गर्नुपर्ने सुझाव मुख्यमन्त्रीहरूको थियो। उनीहरूले प्रदेश स्तरका केही ठुला आयोजना लगानी सम्मेलनमा राख्ने उल्लेख गरेका छन्।

Tags :
प्रतिक्रिया दिनुहोस