माओवादीमा प्रवेश गराएर ‘प्रचण्ड’ले एकताको जालसाजी प्रचार गरेको डा. बाबुरामको आरोप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

माओवादीमा प्रवेश गराएर ‘प्रचण्ड’ले एकताको जालसाजी प्रचार गरेको डा. बाबुरामको आरोप


७ चैत्र २०८०, बुधबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले केही मान्छे पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकताको प्रचार गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जालसाजी गरेको टिप्पणी गरेका छन् । 

अर्का अध्यक्ष महिन्द्रराय यादव पक्षतर्फ लक्षित गर्दै उनले वार्ता समितिको संयोजक आफैँ भएको अवस्थामा आफूहरूलाई थाहै नदिई पार्टी एकताको नाम दिएको भट्टराईको आरोप थियो ।

यादवलगायत नेता छुट्टिएको विषयलाई आफूहरूले ठूलो कुरा नमानेको उनको जिकिर थियो । केही साथीहरू जानु ठूलो विषय नभएको भन्दै उनले जाने साथीहरूलाई फूलमाला लगाएर बिदाइ गर्ने पद्धति बसाउन खोजेको बताए ।

पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘आन्दोलनको क्रममा थकाइ लागेर चौतारीमा बसौँ छिमेकीको घरमा मीठो खाना खाउँ भनेर हिँड्नुभयो । यो राजनीति यात्राको क्रममा चल्छ ठूलो कुरा मान्नु हुँदैन । देशको प्रधानमन्त्री पार्टीको अध्यक्ष हुनुहुन्छ । केही मान्छेले पार्टीमा प्रवेश गरेको कुरालाई पार्टी एकता भयो त्यो आश्चर्य चकित छु । म आफैँ अध्यक्ष भएको रेकर्ड निर्वाचन आयोगमा छ । वार्ता समितिको संयोजक आफैँ छु । जालसाजीपूर्ण काम गरियो ।’

उनले ७० प्रतिशत केन्द्रीय सदस्य र २ तिहाइ कार्यकारिणी समिति सदस्य आफूसँग भएको दाबी गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस