लुम्बिनीको पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

लुम्बिनीको पर्यटन पूर्वाधारमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी 


२० फाल्गुन २०८०, आइतबार


लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रको पर्यटन प्रवर्द्धनका लागि पर्यटकीय पूर्वाधारमा लगानी थपिँदै गएको छ । यहाँको पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लगानी ६० अर्बभन्दा बढी पुगेको छ । लुम्बिनीको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर रूपन्देहीका होटेल व्यवसायमा मात्रै झन्डै ३० अर्बभन्दा बढीको लगानी पुगेको व्यवसायीहरू बताउँछन् ।

पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना-ठूला गरी दुई हजार पाँच सय होटेल छन् । यसमध्ये १५० भन्दा बढी स्तरीय होटेल सञ्चालनमा रहेको होटेल व्यवसायी संघका पूर्वअध्यक्ष पर्यटन व्यवसायी माधव नेपालले बताए । लुम्बिनी क्षेत्रको पर्यटकीय सम्भावनालाई केन्द्रित गरेर होटेल तथा पर्यटकीय क्षेत्रमा निजी क्षेत्रको लागानी बढ्दो छ ।

बुद्ध जन्मस्थल लुम्बिनी प्रवेशद्वारका रूपमा मानिएको सिद्धार्थनगर र रुपन्देहीमा आधुनिक नगरको रूपमा विकसित हुँदै गइरहेको तिलोत्तमा नगरपालिकामा शनिबारदेखि एकैदिन दुईवटा सुविधासम्पन्न होटेल सञ्चालनमा आएका छन् ।

रुपन्देहीको सिद्धार्थनगर–३ स्थित सिंगापुर कोलनीमा नेपालको पर्यटन क्षेत्रमा ३२ वर्षदेखि होटेल सञ्चालन गरिरहेको ल्यान्डमार्क होटेल एन्ड रिसोर्ट सञ्चालनमा आएको छ । यस्तै, तिलोत्ताको जानकीनगरमा पनि सुविधासम्पन्न ‘द क्राउन इन’ होटेल सञ्चालनमा आएको छ ।

भारतीय पर्यटक नेपाल भित्रिने मुख्य बेलहिया नाकाबाट करिब तीन किलोमिटरको दूरीमा करिब डेढ बिघा जग्गामा चारतारे होटेल ल्यान्डमार्क सञ्चालनमा आएको होटेलका प्रमुख कार्यकारी अधिकृत सीएन पाण्डेले जानकारी दिए । उनले भैरहवामा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल पूर्णरूपमा सञ्चालन नभए पनि भविष्यमा सञ्चालन हुने र त्यसले पर्यटन क्षेत्रमा कोसेढुंगा बनाउने बताए । उनले ८० प्रतिशत भारतीय पर्यटक बेलहिया नाकामार्फत नै नेपाल भित्रने गरेको तथ्य प्रस्तुत गर्दै ल्यान्डमार्क त्यस्ता पर्यटकका लागि पहिलो रोजाइमा पर्ने बताए ।

उनले यस्तो आर्थिक मन्दीको समयमा समेत नयाँ होटेल सञ्चालन गरेर नेपाली युवाका लागि नेपालमै रोजगारी सिर्जना गर्न चाहेको बताए । उनले कोभिडका कारण सबैभन्दा पीडित बनेको पर्यटन क्षेत्र विस्तारै माथि उठ्ने क्रममा रहेको बताए ।

प्रारम्भमा होटेलले डिलक्स, सुपर डिलक्स, फेमिली र जुनियर स्वीट गरी ५० कोठासहितको सेवा सुरु गरेको छ । होटेलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्म र बेलहिया नाकाबाट आउने र जाने यातायातको सुविधा समेत उपलब्ध गराएको होटेल व्यवस्थापनले जनाएको छ ।

यस्तै, बुटवल–भैरहवा सिद्धार्थ राजमार्ग खण्डको तिलोत्तमाको जानकी नगरमा ‘द क्राउन इन’ होटेल आधुनिक सुविधासम्पन्न सेवा दिनेगरी शनिबारदेखि नै सञ्चालनमा आएको होटल सञ्चालक अनन्त थैवले बताए । ४० करोडको लगानीमा सञ्चालनमा ल्याइएको होटेल सेमिस्वीट, डिलक्स र सुपर डिलक्स गरी ४० वटा कोठा रहेका छन् । होटलमा एक सयजना क्षमताको बार र रुपटप बारको व्यवस्था गरिएको सञ्चालक थैवले बताए ।

उनले स्वदेशमा नै स्वदेशी पुँजीको लागनीबाट केही गर्न सकिन्छ भन्ने विदेश पलायन हुने नयाँ पिँढीलाई सन्देश दिन विदेशबाट व्यवस्थापन अध्ययन गरेर फर्किएको छोरालाई होटेलको व्यवस्थापकीय जिम्मेवारी दिएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस