सिन्धुपाल्चोक । थाङपाल भ्याली माध्यमिक विद्यालय पाँचपोखरी थाङपाल गाउँपालिका-४ र मोन्टपेलियर, भर्मन्ट, संयुक्त राज्य अमेरिकामा अवस्थित यु-३२ विद्यालयबीच भगिनी सम्बन्ध स्थापित गरिएको छ ।
हेल्प संस्थाको पहलमा विद्यालयमा आज एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गरिएको हो । सम्झौतामा यु-३२ का प्रिन्सिपल स्टिवन डेलिङ्गरपेट र थाङपाल भ्याली माविका प्रधानाध्यापक विजय तामाङले हस्ताक्षर गरे । पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले यस विद्यालयलाई देशकै नमुना बनाउने अभियानमा यो भगिनी सम्बन्धले थप बल पुग्ने विश्वास व्यक्त गरे । उनले अन्तर्राष्ट्रिय तहसम्म प्रतिस्पर्धा गर्न सक्ने विद्यालयको रूपमा यसलाई स्थापित गर्ने लक्ष्य अब बिस्तारै पूरा हुने विश्वास व्यक्त गरे । उनले यस पालिकाको शिक्षा सुधारका लागि गाउँपालिका लागिपरेको बताए ।
हेल्पका अध्यक्ष जिमी लामाले भगिनी सम्बन्ध कायम भएकामा बधाई ज्ञापन गर्दै भविष्यमा विद्यार्थी र शिक्षकबीच सिकाइ साटासाट हुने बताए । अन्य दिन पनि स्कुललाई हितको लागि लाग्ने उनले प्रतिबद्धता जनाए ।
दुई विद्यालयका शिक्षक र विद्यार्थीबीच विभिन्न माध्यमबाट सिकाइ आदानप्रदान गर्न र एक अर्कालाई सिकाइ प्रक्रिया, शैक्षिक प्रक्रिया, शैक्षिक लक्ष्य तथा योजनाहरू पूरा गर्न एक अर्कालाई सहयोग पुर्याउने उद्देश्यसहित भगिनी सम्बन्ध गाँसिएको हेल्पका अध्यक्ष लामाले बताए ।
भगिनी सम्बन्धबाट शिक्षकहरूलाई हालको विश्वव्यापी सन्दर्भमा विद्यार्थीलाई संलग्न गराउने, अन्तरराष्ट्रिय सिकाइ सम्बन्धहरूको बुझ्न मद्दत गर्ने विश्वास लिइएको छ ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले विद्यालयलाई उत्कृष्ट बनाउने अभियानमा सहयोग गर्ने सबैलाई आभार प्रकट गरे । कार्यक्रममा भ्यालीका प्रधानाध्यापक विजय तामाङ, पूर्व व्यवस्थापन समितिका शङ्कर लामालगायतले यु–३२ विद्यालयप्रति आभार प्रकट गरे ।
पाँचपोखरी थाङपाल गाउँपालिकाको ड्रिम प्रोजेक्टका रूपमा रहेको थाङपाल भ्याली मावि चारवटा विद्यालय गाभेर निर्माण गरिएको विद्यालय हो । बागमती प्रदेशभित्रको थाङपाल भ्याली मावि दोस्रो ठूलो विद्यालय हो । पालिकाभित्रको रैथानेश्वरी मावि, चिलाउने मावि, टाल आधारभूत विद्यालय र तीन कन्या आधारभूत विद्यालय गाभेर वडा नं ४ स्थित थाङपालकोटमा सो विद्यालय बनाइएको हो । विद्यालयमा हाल आठ सय २१ भन्दा बढी विद्यार्थी र ४३ जना कर्मचारी सदस्य छन् ।