भित्तेपात्रो प्रकाशकलाई मुहूर्त र साइत दिने पञ्चाङ्ग निर्णायक समितिको तयारी « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

भित्तेपात्रो प्रकाशकलाई मुहूर्त र साइत दिने पञ्चाङ्ग निर्णायक समितिको तयारी


१६ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रो प्रकाशकलाई मुहूर्तको सूची दिने भएको छ।

विसं २०८१ का लागि भित्तेपात्रोको स्वीकृति लिने प्रकाशकलाई नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवं मुहूर्तको सूची दिने भएको हो। समितिले यसअघि २०७९ र २०८० सालका भित्तेपात्रो प्रकाशकले खोजेमात्र सार्वजनिक बिदा एवं साइत दिने गरेको थियो।

यस वर्षदेखि भने सबैलाई अनिवार्यरुपमा स्वीकृति लिने क्रममै यस्तो विवरण दिने व्यवस्था गरिएको समितिले जनाएको छ । भित्तेपात्रोको स्वीकृति दिँदा समितिले तोकेबमोजिम शुल्क पनि लिने गरेको छ।

समितिले विसं २०८१ का भित्तपात्रो स्वीकृति दिन सुरु गरेको बताइएको छ । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई सरकारले अनुगमन गरी कारबाही गर्ने जनाइएको छ।

समितिले देशभरबाट प्रकाशन हुने भित्तेपात्रोले अनलाइनबाटै निवेदन दिई शुल्क तिरेर स्वीकृति लिन सक्ने गरी व्यवस्था गरेको छ। अनलाइनबाट स्वीकृति लिनेले अनलाइनबाटै सरकारी बिदा, चाडपर्वको सूची र साइत पाउने व्यवस्था मिलाइएको छ।

मन्त्रिपरिषद्ले २०७७ साल पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो। गठन आदेश २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशित भएपछि समितिले २०७९ सालदेखि भित्तेपात्रोमा एकरूपता होस् भनी स्वीकृति दिन थालेको हो।

Tags :
प्रतिक्रिया दिनुहोस