नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : अग्निप्रसाद सापकोटा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : अग्निप्रसाद सापकोटा


१३ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र) का प्रवक्ता अग्निप्रसाद सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार आयोजित पार्टी स्थायी समिति बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रूपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गरे ।

प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनै पनि दुष्प्रयासहरु सफल नहुने पनि बताए । उनले भने, ‘धेरै ठूलो कुर्बानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि समानुपातिक समावेशी सिद्धान्त ल्याएका छौँ । यो धेरै ठूलो र महत्त्वपूर्ण कुरा छ । यो नेपाल राष्ट्रका लागिमात्रै नभई विश्वकै लागि एउटा मोडेल छ । यसलाई ओझेलमा पार्नका लागि, पछाडि फर्काउन दुष्प्रयासहरु भइरहेका छन् । यो इतिहासको चक्का पछाडि फर्कन सक्दैन । निरन्तर-निरन्तर अगाडि बढिरहन्छ । र, नेपाली जनताले त्यो चाहेका पनि छैनन् । नेपाली जनताले लोकतन्त्रको विकल्प खोजेका छैनन्, उन्नत लोकतन्त्र खोजेका छन् ।’

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस