संघ सरकारका बीस सडक आयोजना पर्वतबाट फिर्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

संघ सरकारका बीस सडक आयोजना पर्वतबाट फिर्ता


११ फाल्गुन २०८०, शुक्रबार


पर्वत । संघीय सरकारबाट बजेट विनियोजन भई कार्यान्वयनका लागि पठाइएका २० सडक योजना पर्वतबाट फिर्ता पठाइएको छ । सडक स्तरोन्नतिका लागि भन्दै आएका २० वटा योजना कार्यान्वयन नगरी फिर्ता पठाइएको हो । 

पूर्वाधार विकास कार्यालय पर्वतमा प्राप्त भएका ती योजना गण्डकी प्रदेश सरकारको निर्णयबमोजिम कार्यान्वयन नगरी पठाइएको कार्यालयले जनाएको छ । 

संघ सरकारले समेत दोहोरोपन हुने गरी साना योजना छनोट गरेर बजेट विनियोजन गरेपछि फिर्ता पठाउनुपरेको पूर्वाधार विकास कार्यालयका प्रमुख गुरुदत्त अधिकारीले बताए । स्थानीय सरकारको जिम्मेवारीमा पर्ने खालका योजना भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत सडक विभागबाट प्राप्त भएका थिए । 

करिब रु. एक करोड ५० लाख बराबरका ती योजना फिर्ता गरेपछि प्रदेश सरकारअन्तर्गतका योजना र संघीय सरकारका बहुवर्षीय योजना मात्र सञ्चालन गरिएको उनले बताए । प्रमुख अधिकारीका अनुसार अहिले पर्वतमा एक सय ७२ पूर्वाधारका योजना सञ्चालनमा छन् । जनशक्तिको अभाव, योजनाको सङ्ख्या अत्यधिक र साना तथा प्रदेश सरकारसँगै दोहोरोपना हुने खालका योजना भएकाले फिर्ता पठाइएको उनको भनाइ थियो ।

प्रमुख अधिकारीका अनुसार ती योजना रु. पाँच लाखदेखि रु २० लाखसम्मका थिए । प्रदेश सरकारका योजना रु. २० लाखभन्दा माथिका छन् । फिर्ता गरिएका योजनामा कुश्मा नगरपालिका-४ को अर्मादी पुरानो बाटो सडक निर्माण, कुश्मा-४ कै गोदाम जाने सडक, फलेवास नगरपालिकाको खड्केटारी-पञ्चासे सडक स्तरोन्नति, पैंयु गाउँपालिकाको हटियामा सहिद स्मृति सभाहल निर्माण गर्ने योजना रहेका उनले जानकारी दिए।

त्यसैगरी मिलनचोक, रातामाटा-लेकफाँट, खनियाघाट-ओडारे-बनौ सडक, तारे शालिजा-ओख्रेनी, कार्किनेटा-खौला-ठुलीपोखरी, पञ्चासे भञ्ज्याङ-आर्थर, पौडेलचोक-बुमि-लाम्पाटा र बराहथान गुफा-काफलचौर सडक कालोपत्रे योजना पनि फिर्ता पठाइएको छ । 

कुश्मा-३ दुर्लुङको सरुनचौदेखि चनौटे सडक-खण्ड कालोपत्रे योजना, कटुवाचौपारीको पातिकान्ला-पिप्ले-सेउलीबजार सडक, जलजला वडा नं ८ र ९ जोड्ने सडक कालोपत्रे आयोजना, डुम्रेभञ्ज्याङ-बानीडाँडा-देउराली सडक, रतीखोला-चित्रे-राम्जा-गँगटे, फलेवासको भुपुको चौतारीदेखि खौलासम्मको सडक आयोजना फिर्ता पठाइएको कार्यालयले जनाएको छ । 

त्यसैगरी तिलाहार-दराक-चित्रे-राम्जा सडक कालोपत्रे आयोजना, खुर्कोट-पाङ-मल्लाज वैकल्पिक राजमार्ग आयोजना पनि कार्यान्वयन गरिएको छैन । पूर्वाधार कार्यालय पर्वतका अनुसार यस वर्ष झण्डै २० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ भने चारवटा मोटरेवल पुलसमेत निर्माणाधीन अवस्थामा रहेका छन् । 

प्रदेशकै योजना कार्यान्वयन गर्न हम्मेहम्मे परेको बेला संघबाट आएका टुक्रे योजना समावेश गर्न समस्या परेको कार्यालयका इन्जिनियर जीता गिरीले जानकारी दिए । 

Tags :
प्रतिक्रिया दिनुहोस