भैरहवा भन्सारबाट निर्यातमा सुधार « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

भैरहवा भन्सारबाट निर्यातमा सुधार


९ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । रुपन्देहीको भैरहवास्थित बेलहिया नाकाबाट हुने निर्यातमा सुधार आएको छ । भारतमा सिमेन्ट बिक्री हुन थालेपछि निर्यातको अंक बढ्न थालेको हो ।

चालू आर्थिक वर्षमा झण्डै ६ अर्बको निकासी भएको हो । गत वर्षको तुलनामा यस वर्ष निर्यातमा राम्रो सुधार आएको भन्सार कार्यालयको भनाइ छ । चालू वर्षको ६ महिनाको अवधिमा ५ अर्ब ६७ करोड बराबरको निकासी भएको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।

केही वर्ष अघिसम्म भारतकै भर पर्नुपर्ने अवस्था रहेको सिमेन्ट तथा क्लिङ्कर पछिल्लो समय भारततिर निकासी हुन थालेको छ । यहाँबाट सबैभन्दा धेरै सिमेन्ट तथा क्लिङकर निर्यात भएको हो । बेलहिया नाका हुँदै अर्घाखाँची, शुभश्री, जगदम्बा, पाल्पा तथा सर्वोत्तम सिमेन्ट भारततर्फ निकासी हुँदै आएको छ ।

यस्तै खैरो सिमेन्ट निर्यात दोस्रो नम्बरमा छ । विभिन्न वनस्पति उत्पादन, पिना, अदुवा, सुठोलगायतका जडीबुटी, तयारी चाउचाउ, पास्ता तथा चोकर, भुससमेत यो नाकाबाट निकासी भइरहेको छ ।

भन्सार कार्यालयको तथ्यांकअनुसार माघ मसान्तसम्म ७५ करोड ३७ लाख रुपैयाँको १ लाख ३३ हजार टन सिमेन्ट तथा ९१ करोड ४३ लाखको १ लाख २० हजार टन क्लिंकर बेलहिया नाका हुँदै भारत निकासी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस