दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए शपथ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

दूरसञ्चार प्राधिकरणका अध्यक्ष भण्डारीले लिए शपथ


८ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्ष भुपेन्द्र भण्डारीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नवनियुक्त अध्यक्ष भण्डारीलाई आज (मङ्गलवार) शपथ गराएकी हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को फागुन ६ गतेको बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सो अवसरमा मन्त्री शर्माले राष्ट्रहितलाई केन्द्रमा राखेर काम गर्न अध्यक्ष भण्डारीलाई आग्रह गरिन् । मुलुकको आर्थिक समृद्धिका लागि डिजिटल रूपान्तरण अपरिहार्य रहेको र त्यसका लागि दूरसञ्चार आधारभूत डिजिटल पूर्वाधार भएको उल्लेख गर्दै मन्त्री शर्माले चाँडोभन्दा चाँडो देशका सबै भूभागमा दूरसञ्चार सेवा पुर्‍याउने गरी काम गर्न सुझाव दिइन् ।

नवनियुक्त अध्यक्ष भण्डारीले राष्ट्रहित र नागरिकको सेवालाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । दूरसञ्चार क्षेत्रको बदलिँदो आयाम र आफ्नो दुई दशक लामो सूचना प्रविधि क्षेत्रको अनुभवका आधारमा दूरसञ्चार र सूचना प्रविधिको क्षेत्रमा योगदान दिने उनले बताए ।

निवर्तमान अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि अध्यक्ष पदमा खुला प्रतिस्पर्धाका लागि आव्हान गरिएको थियो । प्रतिस्पर्धाका लागि २५ जनाले आवेदन दिएकोमा सञ्चार सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा गठित सिफारिस समितिले भण्डारी, शैलेन्द्र गिरी र नवीन जिसीको नाम मन्त्रिपरिषद् सिफारिस गरेको थियो । मन्त्रिपरिषद्ले पहिलो नम्बर रहेका भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस