काठमाडौँ । रुकुम पश्चिम स्थायी घर भएका बमबहादुर विकले दक्षिण अमेरिकाको सर्वोच्च शिखर एकान्कागुवाको सफल आरोहण गरेका छन् । विकले अर्जेन्टिनाको स्थानीय समय अनुसार फेब्रुअरी १३ का दिन बिहान ९ बजेर ५९ मिनेटमा एकान्कागुवाको सफल आरोहण गरेका हुन् ।
काभ्रेको खानीखोला गाउँपालिकामा लेखापालको जिम्मेवारीमा रहेका उनले हिमालको सफल आरोहणसँगै नेपालको राष्ट्रिय झन्डासमेत फहराएका थिए । योसँगै एकान्कागुवा हिमालको सफल आरोहण गर्ने उनी पहिलो निजामती कर्मचारीसमेत बनेका छन् ।
हिमाल आरोहणपछि उनले भनेका छन्, ‘सात महादेशको उच्च शिखर मध्येको एक दक्षिण अमेरिकाको सबैभन्दा उच्च शिखर एकान्कागुवाको आरोहण गर्न सफल भएको छु । नेपालको निजामती कर्मचारीकै रूपमा उक्त शिखर आरोहण गर्ने पहिलो आरोही हुन पाउँदा गर्व लागेको छ ।’ उनले हिमाल आरोहणका लागि प्रेरणा दिने र सहयोग गर्नेहरू प्रति आभार प्रकट गरेका छन् ।
उनले भने, ‘मेरा हरेक सफलतालाई आफ्ना सफलता सम्झेर रमाउने जन्म दिने बाबा–आमाप्रति सधैँ नै ऋणी छु ।’ उनले हिमाल आरोहणका लागि सहयोग र हौसला प्रदान गर्ने आफू कार्यरत गाउँपालिकाका अध्यक्ष ईन्द्र बहादुर थिङ ( छिन्ताङ), उपाध्यक्ष दोर्जेमान जिम्बा, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, वडा अध्यक्षहरू लगायत जनप्रतिनिधि र सहकर्मीहरू प्रति आभार प्रकट गरेका छन् ।
एकान्कागुवा सात महादेशको उच्च शिखरमध्येको एक हो । उक्त हिमाल ६,९६२ मिटर अग्लो छ । उनले यसअघि अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमालको समेत सफल आरोहण गरिसकेका छन् ।
