काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ। विराटनगरमा उपचारका क्रममा ८० वर्षको उमेरमा सोमबार राति उनको निधन भएको काँग्रेस झापाका सचिव कृष्ण हुमागाईँले जानकारी दिए ।
लामो समयदेखि प्रोस्टेटको क्यान्सरबाट पीडित उनी पछिल्लो समय मिर्गौलाको उपचार गराइरहेका थिए । झापा अर्जुनधारा नगरपालिका निवासी नेता बुढाथोकी पञ्चायतकाल र गणतन्त्र दुवै शासन व्यवस्थामा मन्त्री भएका थिए ।
उनी प्रधानपञ्च, जिल्ला पञ्चायत सभापति, राष्ट्रिय पञ्चायत सदस्य हुँदै जलस्रोत सहायक मन्त्री र सामान्य प्रशासन मन्त्रीसम्म भएका थिए ।
बुढाथोकीको पार्थिव शरीरलाई मंगलबार जिल्ला पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जली दिइने हुमागाईँले जानकारी दिए । बुढाथोकीका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।