आहा रारा गोल्डकपमा आज जावलाखेल र थ्रीस्टार भिड्दै « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

आहा रारा गोल्डकपमा आज जावलाखेल र थ्रीस्टार भिड्दै


१७ माघ २०८०, बुधबार


काठमाडौँ । आहारारा पोखरा गोल्डकपमा आज जावलाखेल युथ क्लब र थ्रीस्टार क्लब खेल्दैछन् । २३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार आमनेसामने हुन लागेका हुन् । 

खेल पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार र जावलाखेल आहारारामा तेस्रोपटक आमनेसामने हुन लागेका हुन् । २०६८ सालको क्वार्टरफाइनलमा यी दुई टोलीले पहिलो पटक मैदान साटेका थिए । पहिलो पटक सहभागी जावलाखेलले थ्रीस्टारलाई ३-१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा गर्न सफल भयो । 

लगत्तै ११औं संस्करणमा २०६९ सालमा सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक मैदान उत्रिए । थ्रीस्टारले २-१ गोल अन्तरले जावलाखेललाई पन्छ्याउँदै अघिल्लो संस्करणको हारको बदला लियो ।

आजको तेस्रो भेटमा सफल एक टोलीले उपाधि यात्रा तय गर्नेछ । थ्रीस्टारले हालसम्म आहाराराको ५ पटक उपाधि रक्षा गरिसकेको छ । जावलाखेल भने अहिलेसम्म उपाधिविहीन छ ।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो । जावलाखेलले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस