अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल : पूर्वराष्ट्रपति भण्डारी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अहिलेको स्वतन्त्रता र नागरिक अधिकार शहीदको बलिदानको प्रतिफल : पूर्वराष्ट्रपति भण्डारी


१६ माघ २०८०, मंगलबार


काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हामीले अहिले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदको बलिदानको प्रतिफल भएको बताएकी छन् ।

शहीद दिवस २०८० को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले शहीदको बदिलानकै कारण स्वाधीन र सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको स्वतन्त्र नागरिकका रूपमा उँचो शिर लिएर बाँच्न पाएको बताएकी हुन् ।

पूर्वराष्ट्रपति भण्डारीले शहीदको बलिदानद्वारा प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको रक्षा गर्दै दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य पूरा गर्नेतर्फ सबै अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने बताइन् । 

निरङ्कुश र तानाशाही शासन व्यवस्थाको स्मरण गर्दै उनले पहिलाका दिनमा हामी ‘नागरिक’ हैन ‘रैती’को रूपमा शिर झुकाएर बाँच्न विवश भएको उल्लेख गरिन् । 

‘नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरुद्ध भएका विभिन्न आन्दोलनहरूमा आफ्नो अमूल्य जीवन बलिदान गर्ने महान् सहिद धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलगायत सम्पूर्ण ज्ञात-अज्ञात अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु’, जारी शुभकामना सन्देशमा भनिएको छ ।

उनले न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत समाजका साथै समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आ-आफ्नो तर्फबाट इमान्दारीताका साथ भूमिका खेल्नुपर्ने बताएकी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस