लोभी नेता भएको देशका जनता कहिल्यै खुसी हुँदैनन् : मन्त्री गुरुङ « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

लोभी नेता भएको देशका जनता कहिल्यै खुसी हुँदैनन् : मन्त्री गुरुङ


१३ माघ २०८०, शनिबार


काठमाडौँ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले लोभी नेता भएको देशका जनता कहिल्यै खुसी नहुने बताएका छन् । देश बदल्ने हो भने पहिला आफू बदलिन आवश्यक रहेको बताउँदै मन्त्री गुरुङले राजनीति गर्नेहरू लोभबाट मुक्त हुनुपर्ने बताएका हुन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा शुरु राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन मन्तव्यका क्रममा मन्त्री गुरुङले वडाध्यक्षदेखि प्रधानमन्त्रीसम्मै सदाचार हुनु पर्ने बताएका छन् । ‘जुन देशका नेता लोभी हुन्छन्, त्यस त्यस देशको जनताले सुख पाएको मैले देखेको छैन’ मन्त्री गुरुङले भने ‘त्यसैले देश बनाउने हो भने हामी जस्ता राजनीति गर्नेहरू लोभबाट मुक्त हुन आवश्यक छ ।’

राजनीति गर्नु भनेको मोज मस्ती र रजगज गर्नु नभई जनताको उज्यालो भविश्यको खोज्नु रहेको बताउँदै कानुनमन्त्री गुरुङले देशको मुहार उज्यालो बनाउन आफै सुध्रिनु पर्नेसमेत बताए ।

हलेसी तुवाचुङ नगपालिकाका मेयर एवं कार्यक्रमका अध्यक्ष विमला राईले ठेकेदारहरूले काम नगरिदिएकै कारण जनप्रतिनिधिहरूले गाली खानु परेका बताएकी छिन् । सार्वजनिक खरिद ऐन अनुसार लगाइएका ठेक्कामा ठेकेदारले समयमै काम सम्पन्न नगरिदिँदा आफूहरूले गाली खानु परेको मेयर राईको भनाई थियो ।

उनले कतिपय कानुन सच्याउन पर्ने आवश्यक देखिएको बताउँदै निर्माण कम्पनीहरूकै कारण भौतिक विकास निर्माणमा पछि परेको बताइन् ।

नगरपालिकाको नौ लाख र संघीय सरकारबाट एक गरी १० लाख लागतमा सञ्चालन हुने प्रतियोगितामा ३० वटा स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने नगरपालिकाले जनाएको छ । अर्खौले विजुलेस्थित सालपा खेलमैदानमा सञ्चालन भइरहेको प्रतियोगिता माघ १५ गतेसम्म चल्ने छ ।

प्रतियोगितामा १२ वटा सामुदायिक माध्यामिक विद्यालय र दुई संस्थागत गरी १४ वटा विद्यालयको सहभागिता रहने छ । जसमा छात्रातर्फ २९० र छात्रतर्फ २६१ गरी पाँच सय ५१ जना खेलाडीको सहभागिता रहने पालिकाको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस