विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विसं २०८१ का लागि १५ पात्रोलाई स्वीकृति, माघ १५ देखि बजारमा आउने


१२ माघ २०८०, शुक्रबार


काठमाडौँ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि १५ पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ ।

विसं २०८१ का लागि समितिले १५ वटा पात्रो (पञ्चाङ्ग) लाई स्वीकृति दिने निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । उनका अनुसार स्वीकृति दिएका पात्रो माघ १५ गतेदेखि बजारमा आउनेछ ।

आगामी वर्षका लागि तोयनाथ पन्तको, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति, सिद्धि, खप्तड तारानाथ र गौरीशङ्कर गरी १५ पात्रो (पञ्चाङ्ग) ले स्वीकृति पाएको छ । समितिले विसं २०७९ देखि प्रकाशन सुरु गरेको ‘राष्ट्रिय पञ्चाङ्गम्’ लाई पनि निरन्तरता दिइने जनाइएको छ ।

विसं २०७६ सम्म पुस अन्तिम साता नै पात्रो (पञ्चाङ्ग)प्रकाशन भइसक्थ्यो । विसं २०७७ पुस २० गते मन्त्रिपरिषद्ले समितिको गठन आदेश स्वीकृत गरेको थियो । त्यसअघि मन्त्रालयको पत्रका आधारमा मात्र समिति गठन भएर पात्रोलाई स्वीकृति दिने गरिएको थियो । गठन आदेश अनुसार समितिले स्वीकृति दिएका पात्रोमात्र प्रयोग गर्न आम मानिसलाई सूचना प्रकाशन गरी आह्वान गरिएको छ ।

पात्रोमा राखिने तिथि, बार, योग, नक्षत्र र करण गरी पाँच समूहलाई पञ्चाङ्ग भनिन्छ । पछिल्लो समय सामान्य मानिसले पनि बुझून् भनी घडीपलालाई बजेमा रुपान्तरण गरेर समेत पात्रोमा राखिने गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस