झापाका किसान धान खेत मासेर केरा खेतीतर्फ आकर्षित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

झापाका किसान धान खेत मासेर केरा खेतीतर्फ आकर्षित


१२ माघ २०८०, शुक्रबार


झापा । जिल्लामा केरा खेतीतर्फ किसानको आकर्षण बढेको छ । केरा खेतीबाट मनग्य आम्दानी हुने र धान बालीको तुलनामा खेती गर्न सजिलो हुने हुँदा यसतर्फ किसानको आकर्षण बढेको हो । किसानले धान खेत मासेर केराखेती गरेका हुन् ।

जिल्लामा एक हजार आठ सय ९० हेक्टर जमिनमा केराको व्यावसायिक खेती हुने गरेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए । केराको फलसँग बोट र पात मलका लागि बहु उपयोगी हुने उनको भनाइ छ । उनले विगत तीन वर्षयता जिल्लामा केराको व्यावसायिक खेती बढेको बताए । 

उनका अनुसार जिल्लाका गौरादह, भद्रपुर नगरपालिका, झापा, कचकवल, बाह्रदशी र कमल गाउँपालिकामा केराको व्यावसायिक खेती रहेको छ । यहाँ वार्षिक ३७ हजार मेट्रिकटन केरा उत्पादन हुने गरेको उनले बताए । प्रमुख विष्टले जिल्लामा गौरीगञ्ज गाउँपालिका र अर्जुनधारा नगरपालिकामा टिस्युकल्चर प्रविधिबाट केराको उन्नत जातको बिरुवा उमार्ने नर्सरी रहेको जानकारी दिए । 

“धान, मकै खेतीभन्दा केरा खेतीबाट आम्दानी राम्रो हुन्छ, खेती गर्न पनि सजिलो हुन्छ”, प्रमुख विष्टले भने, “त्यही भएर किसान धान खेत मासेर केरा खेतीतर्फ आकर्षित भइरहेका छन् । दश कट्ठा जमिनदेखि ५७ बिघा क्षेत्रफलमा किसानले केराको व्यावसायिक खेती गर्दै आएका छन् । 

अधिकांश केरा खेतीमा लागेका किसान वैदेशिक रोजगारीबाट फर्केका छन् । उनीहरूले परदेशमा रोजगारी गर्न जानुभन्दा स्वदेशमै परिवारसँग बसेर व्यवसाय गर्ने सोच बोकेर युवा केरा खेतीमा लागेका छन् । उनले केराखेती प्रवर्द्धनका लागि ज्ञान केन्द्रले यसै वर्षदेखि गौरीगञ्ज गाउँपालिकामा केरा ब्लक विकास कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । 

झापा गाउँपालिकाका-३ का चन्द्रप्रसाद बस्नेतले केरा खेतीसँगै यसको थामलाई प्रशोधन गरेर कपडा, धागो, महिनावारी प्याड र फाइबर उत्पादन गर्ने तयारी गरिरहेका छन्। विगत पाँच वर्षअघि इजरायलबाट फर्केर उनले ३० बिघा जमिनमा केराको व्यावसायिक खेती गर्दै आएका छन् ।  । पालिकामा उनले गरेको केरा खेतीबाट राम्रो आम्दानी भएको देखेर अन्य युवा पनि केरा खेतीमा लागेका छन्। उनले युवालाई प्रोत्साहन गरेर यसको व्यावसायिक खेती गर्न प्रेरित गर्दै उनीहरूले उत्पादन गरेको केराको बजारीकरणमा सहजीकरण गरिदिने र प्राविधिक सहयोग  गर्दै आएका छन् ।  । हाल पालिकामा १५ बढी किसानले व्यावसायिक केराखेती गरिरहेका छन् । 

स्थानीय २० जना युवायुवतीलाई रोजगार दिएको बस्नेतले वार्षिक रु एक करोडको केरा बिक्री गर्ने गरेको बताए । उनले धान, मकैलगायत अन्य बालीको तुलनामा केरा खेतीबाट बढी लाभ हुने गरेको जानकारी दिए ।  

‘यही चालु आर्थिक वर्षभित्रमै केराको थामलाई प्रशोधन गर्ने कारखाना स्थापना गर्न रकम जम्मा गर्दैछु’, उनले भने, ‘चाँडै स्थापना गर्छु । यसो भयो भने जिल्लामा उत्पादित केरासँगै यसको थामले सबै किसानलाई लाभ दिन्छ ।’ उनले झापा गाउँपालिकाले केरा खेतीलाई आर्थिक करिडोरका रूपमा विकास गर्ने हो भने यसको प्रवर्द्धन, स्थानीय क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुनुका साथै स्थानीय बासिन्दाको जीवनस्तरमा सुधार आउने धारणा व्यक्त गरे । उनी भर्खर भारतको महाराष्ट्रमा आयोजित १० दिने ‘जैन डिप स्प्रिङ्कल सिँचाइ’ प्रशिक्षण कार्यक्रममा सहभागी भएर फर्किएका छन् । 

यसैगरी श्रीगणपति एग्रिकल्चर प्रालिले भद्रपुर र गौरादह नगरपालिकामा जग्गा भाडामा लिएर व्यावसायिक केराखेती गर्दै आएको छ । उन्नत जातको केराको बोट नौ महिनामा पसाउन थाल्ने र एक वर्षभित्रमै आम्दानी दिने गरेको प्रालिका अध्यक्ष वासु उप्रेतीले बताए। उनले भद्रपुर-५ मा २० बिघा र गौरादह-५ मा ५७ बिघा गरी ६७ बिघा जग्गा भाडामा लिएर केराको व्यावसायिक खेती गत वर्षदेखि सुरु गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस