चक्रपथभित्र २० सिटसम्मका गाडीलाई मात्र अनुमति « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

चक्रपथभित्र २० सिटसम्मका गाडीलाई मात्र अनुमति


१० माघ २०८०, बुधबार


माइक्रोबस

काठमाडौँ । यातायात सुधार सुझाव कार्यदलले साना सवारीमध्ये टेम्पो, माइक्रो बस र २० भन्दा कम सिट भएका मिनिबसहरूलाई मुख्य शहरी क्षेत्र (चक्रपथ)भित्र बाटो इजाजत नदिन सिफारिस गरेको छ ।

पूर्वसचिव शरदचन्द्र पौडेल नेतृत्वको कार्यदलले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरेको प्रतिवेदनले बाटोको आकार तथा बाटोमा पर्ने शहरी क्षेत्रको प्रकृतिअनुसार चल्न उपयुक्त प्रकारको सवारीलाई मात्र बाटो इजाजत दिन सिफारिस गरेको हो ।

कार्यदलले साँघुरा सडकहरूमा ठूला सवारीलाई र ठूला सडकहरूमा साना सवारीलाई बाटो इजाजत नदिन पनि कार्यदलले सुझाव दिएको छ । कार्यदलले दुई पाङ्ग्रे निजी सवारीलाई समेत सार्वजनिक प्रयोजनमा दर्ता हुने कानुन व्यवस्था गर्न र नियमन गरेर सञ्चालन गर्ने अनुमति दिन समेत सिफारिस गरेको हो । यसो भएमा पठाओ, इन्ड्राइभजस्ता सेवा वैध बन्नेछन् ।

कार्यदलले शहरी क्षेत्रमा सार्वजनिक यातायात व्यवस्थापन गर्न विभिन्न सुझावहरू दिएको छ । सार्वजनिक यातायात सञ्जाललाई मानव आवादी भएका सबै क्षेत्र समेट्ने गरी विस्तार गर्न आवादीको घनत्व तथा सेवाको माग विश्लेषण गरी सबै क्षेत्रलाई उपत्यकाव्यापी यातायात सञ्जालमा आबद्ध गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ ।

शहरी सार्वजनिक यातायातमा प्रयोग हुने सवारीको बनोट, सुरक्षा पक्ष तथा सवारीहरूमा हनु पर्ने न्यूनतम सुविधा सम्बन्धी मापदण्ड तोकी लागू गराउनुपर्ने सुझाव कार्यदलले दिएको छ । विद्युतीय वालेट, क्युआर कोड, सञ्चित मूल्य यात्रा कार्ड लगायत भौतिक मुद्रारहित माध्यमबाट समेत भाडा भुक्तानी गर्न मिल्ने प्रणाली निर्माण गरी सञ्चालन गर्न पनि प्रतिवेदनले सिफारिस गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस