नश्लीय व्यवहारप्रति संवेदनशील बन्न मधेशी आयोगले गरायो प्रहरीको ध्यानाकर्षण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नश्लीय व्यवहारप्रति संवेदनशील बन्न मधेशी आयोगले गरायो प्रहरीको ध्यानाकर्षण


१० माघ २०८०, बुधबार


काठमाडौँ । मधेशी आयोगले नेपाली समाजमा अझै पनि समस्याका रूपमा रहेको नश्लीय व्यवहारप्रति संवेदनशील बन्न नेपाल प्रहरीको ध्यानाकर्षण गराएको छ ।

आयोगका अध्यक्ष विजयकुमार दत्तले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई आयोगको कार्यालयमा बोलाएर मधेशी समुदायलाई लक्षित गरी हुने गरेका गालीगलौज, अपमानजनक शब्द र नश्लीय व्यवहार गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउन ध्यानाकर्षण गराएका हुन् ।

अध्यक्ष दत्तले समाजमा चारैतिर यस्तो विभेद कायम रहेपनि प्रहरीले त्यस्ता उजुरीलाई संवेदनशीलरुपमा नलिने गरेको गुनासो गरेका थिए । आयोगको कार्यालयमा भएको अध्यक्ष दत्त र महानिरीक्षक कुँवरबीचको भेटमा नश्लीय व्यवहारसँग सम्बन्धित उजुरी र तिनमाथि कारबाहीको अवस्थाबारे छलफल भएको थियो ।

त्यसक्रममा अध्यक्ष दत्तले आयोगले समय-समयमा प्रहरीलाई पत्राचार गरेपनि न्यून उजुरी माथि मात्र कारबाही भएको बताएका थिए । त्यस्तै, अध्यक्ष दत्तले तराई मधेशमा दिन प्रतिदिन बढ्दै गएको घरेलु हिंसालाई रोकथाम गर्न समेत आयोग र प्रहरीको समन्वयकारी भूमिका आवश्यक रहेको बताएका थिए ।

सो बैठकमा बोल्दै महानिरीक्षक कुँवरले प्रहरी नश्लीय व्यवहारको घटनाप्रति सचेत रहेको र आयोगसँग समन्वय तथा सहकार्य गरी आगामी दिनमा यस्ता घटनाहरूलाई न्यूनीकरण गर्न आवश्यक रणनीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस