ब्ल्याकमेलिङ गर्ने युवतीलाई ६ महिना जेल सजाय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ब्ल्याकमेलिङ गर्ने युवतीलाई ६ महिना जेल सजाय


१० माघ २०८०, बुधबार


काठमाडौँ । पुरुषसँग नजिकिएर एकान्तमा बोलाउने र बलात्कार मुद्दामा फसाइदिने भन्दै ‘ब्ल्याकमेलिङ’ गर्ने एक युवतीलाई ६ महिना जेल सजाय भएको छ । 

जिल्ला अदालत काठमाडौँले बुढानीलकण्ठ नगरपालिका-६ घर भएकी देवी थापालाई दोषी ठहर गर्दै ६ महिना कैद र पाँच हजार जरिवानाको फैसला गरेको हो ।

थापाविरुद्ध दुई वर्षअघि दायर भएको आपराधिक लाभको एक मुद्दामा सोमबार न्यायाधीश श्यामलाल घिमिरेको इजलासले कैद र जरिवानासँगै उनीबाट पीडित पुरुषलाई सात लाख क्षतिपूर्ति भराउनसमेत आदेश दिएको छ । 

युवतीका सहयोगी ललितपुर महालक्ष्मी नगरपालिका-५ का सुदर्शन सापकोटालाई सात दिन कैद र एक हजार जरिवानाको फैसला सुनाइएको छ । 

प्रहरीकै एक कनिष्ट अधिकृतलगायत व्यक्तिले थापाविरुद्ध उजुरी दिएका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौँले ६ मंसिर ०७८ मा थापा र सापकोटालाई पक्राउ गरी मुद्दा चलाएको थियो । व्यक्तिगत लेनदेनको पैसा फिर्ता माग्दा थापाले बलात्कार मुद्दामा फसाइदिने भन्दै ब्ल्याकमेलिङ गरेको पुष्टि भएको भन्दै प्रहरीले मुद्दा दायर गरेको थियो । 

विभिन्न व्यक्तिसँग नजिकिने, एकान्तमा भेट्न बोलाउने र पछि ब्ल्याकमेलिङ गरेको उजुरी युवतीविरुद्ध थियो । एक ठेकेदार, प्रहरी कर्मचारी तथा सहकारीका कर्मचारीलाई उनले ब्ल्याकमेलिङ गरेकी थिइन् । एक व्यक्तिविरुद्ध भने जबर्जस्तीकरणी मुद्दामा जाहेरी नै दिएर पक्राउ गराएकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस