चारवटै विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

चारवटै विमानस्थलको व्यवस्थापन निजी क्षेत्रलाई दिने तयारी


९ माघ २०८०, मंगलबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले निजगढसहित चार अन्तर्राष्ट्रिय विमानस्थललाई पीपीपी (पब्लिक प्राइभेट पार्टनरसीप) मोडलमा सञ्चालन गर्न दिनेबारे अध्ययनको तयारी भइरहेको बताएका छन् ।

प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र समितिको मंगलबार बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतका सांसदले चार विमानस्थल सञ्चालनका विषयमा चासो राखेपछि जवाफ दिने क्रममा मन्त्री किरातीले यसबारे अध्ययनका लागि समिति बनाउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

अहिले भैरहवा, पोखरा विमानस्थलको व्यवस्थापन फरक फरक संस्थालाई दिँदा समन्वय गर्न सहज नभएको भन्दै उनले भने, ‘चार वटालाई नै बण्डलिङ गर्ने र त्यसले निश्चित समयभित्र नयाँ एयरपोर्ट पनि बनाउने । सुरक्षाको प्रबन्ध नेपाल सरकारले गर्छ, अरु पीपीपी मोडलबाट सञ्चालन गर्दा कसो होला भनेर हामीले अध्ययन समिति बनाउँछौँ ।’

अरु देशका ठूला विमानस्थलहरू पनि पीपीपी मोडलबाटै सञ्चालन भइरहेको उनले बताए । यसबारे मन्त्री वा मन्त्रालय तहबाट निर्णय गर्ने नभई राष्ट्रिय सहमति खोज्नुपर्ने मन्त्री किरातीले बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस