काठमाडौँ । सरकारले ७७ वटै जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने भएको छ । यसका लागि सरकारले नीतिगत निर्णय गरेर अगाडि बढाएको छ ।
सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा एमालेकी सांसद विद्या भट्टराईले आत्महत्या समस्याको रूपमा देखा परेको उल्लेख गर्दै सरकारले यस सम्बन्धमा के गरिरहेको छ भनी सोधेकी थिइन् ।
जवाफमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सरकारले अब प्रत्येक जिल्लामा मनोसामाजिक परामर्शदाता राख्ने गरी सरकार अगाडि बढेको बताएका हुन् ।
हाल विश्व स्वास्थ्य संगठनसँग समन्वय गरेर १४ वटा जिल्लामा मेन्टल हेल्थको कार्यक्रम सञ्चालन भइरहेको छ । यसका अलावा प्रत्येक स्थानीय तहमा परामर्शदाता राखिएको छ ।
साथै, केही समयअगाडि मात्रै ३२ जनालाई मनोसामाजिक परामर्शदाताको तालिम दिएर उनीहरूलाई सर्टिफिकेटसहित देशभर खटाइएका उनले बताए ।
प्रत्येक जिल्ला अस्पतालसँग समन्वय गरेर प्रत्येक जिल्ला अस्पतालमा प्रत्येक महिनामा एक जना एक पटक वा दुई पटक मेन्टल हेल्थको सेवा दिने नीति कार्यान्वयनमा लागिएको उनले जानकारी दिए ।
यसैगरी, स्कुलमा रहेका नर्सलाई मनोवैज्ञानिक परामर्शको तालिम दिएर उनीहरूमार्फत समेत सेवा दिने सरकारको तयारी रहेको उनले बताए ।