मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदै


५ माघ २०८०, शुक्रबार


जनकपुरधाम । मधेस प्रदेशमा आज छैटौँ बलिदानी दिवस मनाइँदैछ । अन्तरिम संविधानमा सङ्घीयता र समावेशितासहितको व्यवस्था गर्नुपर्ने माग गर्दै भएको प्रथम मधेस आन्दोलनको १७ वर्ष पूरा भएको  अवसरमा प्रदेश सरकारले बलिदानी दिवस मनाउँदै आएको छ ।

मधेस आन्दोलनका क्रममा २०६३ साल माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस केन्द्रित दल र प्रदेश सरकारले माघ ५ गतेलाई बलिदानी दिवसका रूपमा मनाउँछन् । 

विसं २०६२/०६३ सालको जनआन्दोलनको सफलतापछि माघ १ गते जारी गरिएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशिता समावेश नगरेको जनाउँदै तत्कालीन मधेसी जनअधिकार फोरमको नेतृत्वमा  आन्दोलन गरिएको थियो । माघ २ गतेदेखि सुरु भएको सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानस्थित लिटिल स्टार बोर्डिङ स्कुलमा अध्ययनरत सिरहा मझौराका विद्यार्थी रमेश महतोको निधन भएको थियो । यसपछि मधेसभर आन्दोलन भएको थियो ।

पछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग अन्तरिम संविधान संशोधन गरेर माग सम्बोधन गर्ने सम्झौतापछि पहिलो चरणको २१ दिने आन्दोलन स्थगित भएको थियो । सो आन्दोलनलाई मधेसवादीहरूले मधेस जनविद्रोहको संज्ञा दिने गरेका छन् । त्यही जगमा देशमा सङ्घीयता र संविधान आएको जनाउँदै मधेस प्रदेश सरकार गठन भएदेखि नै यहाँ सहिदको सम्झनामा हरेक वर्ष माघ ५ मा बलिदानी दिवस मनाउने गरिएको हो । त्यसयता विसं २०७४ सम्म पटकपटक भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मधेसवादी दलहरूले दाबी गर्दै आएका छन् तर मधेसी सहिद प्रतिष्ठानसँग ६३ जनाले सहादत प्राप्त गरेको र ७२  घाइते भएको तथ्याङ्क छ । बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस