काठमाडौँ। पोखराको बलिदानी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अजय श्रेष्ठ र लेखा समिति सदस्य सचिना थापालाई उच्च अदालतले पनि थुनामै राख्न आदेश दिएको छ ।
बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा गत २५ कात्तिकमा पक्राउ परेका श्रेष्ठ र थापालाई ३ मंसिरमा जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।
जिल्ला अदालतको आदेशविरुद्ध श्रेष्ठ र थापाले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । बिहीबार उच्च अदालतका न्यायाधीश राजनप्रसाद भट्टराई र अमृतबहादुर बस्नेतको संयुक्त इजलासले जिल्ला अदालतकै आदेश सदर गरेको हो ।
बलिदानी सहकारीमार्फत १ हजारभन्दा बढी बचतकर्ताको १० करोड रुपैयाँ अपचलन गरेको आरोपमा १५ जनाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । जसमध्ये अध्यक्ष श्रेष्ठ, लेखा समिति सदस्य थापासँगै उपाध्यक्ष राजन लम्साल पनि पुर्पक्षका लागि थुनामा छन् भने ३ जना धरौटीमा रिहा भएका छन् ।