काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोलले १० वटा गौरवका योजनाहरू अघि सारिएको बताएकी छन्। हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिने गरी सो योजनाहरू अघि सारेको बताएकी हुन् ।
मंगलबार काठमाडौँमा महानगर गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिका लागि महानगरले गौरवका योजनामार्फत सीप विकासको काम गर्न लागेको दाबी गरिन् ।
उनले १० वटा गौरवका योजनाहरूमा महत्त्वपूर्ण योजना रोजगारीसँग जोडिएको बताइन्। उपप्रमुख डंगोलले महानगरले हरेक वर्ष कम्तीमा १५ हजार महानगरवासीलाई दक्ष जनशक्ति बनाएर रोजगारी दिने क्षमता राख्नुपर्ने लक्ष्य लिएर काम गरिहरेको उल्लेख गरिन्। उनले सीप र दक्षता भएकालाई रोजगार दिने र जनशक्ति उत्पादनबीचको खाडल पुर्न महानगरले सीप विकास तालिम दिने बताइन्।
उनले भनिन्,‘आगामी तीन वर्षमा पूरा गर्ने गरी १० वटा गौरवका योजनाहरू अघि सारेका छौँ। ती योजनाले तीन वर्षमा ट्रान्जिवल परिणाम दिने अपेक्षा राखेका छौँ। जसमध्ये महत्त्वपूर्ण गौरवको आयोजना रोजगारीमा जोडिएको छ। रोजगारी र आय वृद्धि काठमाडौँको समृद्धि नाराका साथमा कार्यक्रम अघि सारेका छौँ। यो कार्यक्रमको लागि १० करोड बजेट पनि छुट्याएका छौँ। कम्तीमा पनि १५ हजार जना महानगरवासीलाई रोजगारी दिन सक्ने क्षमता राख्नुपर्ने लक्ष्य लिएका छौँ।’