काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले आफ्नो पहलमा ल्याइएका योजनामा जसपाका नेता-कार्यकर्ताले कब्जा गरेको भन्दै आक्रोश पोखेका छन् ।
राउत सप्तरी क्षेत्र-२ बाट निर्वाचित संघीय सांसद हुन् । फेसबुकमा स्ट्याटस लेख्दै उनको सचिवालयले सप्तरी २ मा मधेस कृषि विश्वविद्यालय, राज रङ्गशाला, रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतको परियोजनामा आफूले बजेट ल्याइदिएको तर कार्यक्रम गर्दा जसपाले कब्जा गरेर जनमतलाई बहिष्कार गरेको दाबी गरेका छन् ।
मधेस कृषि विश्वविद्यालयको कार्यक्रममा जसपा अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाएकोमा उनले आपत्ति जनाएका छन् ।
‘दिनरात एक गरेर सप्तरी निर्वाचन क्षेत्र नं. २ मा मधेस कृषि विश्वविद्यालयलाई ३० करोड बजेट हाल्न लगाउने जनमत पार्टीले, अनि कार्यक्रम हुँदा सप्तरी निर्वाचन क्षेत्र २ मा प्रमुख अतिथि जसपाका अध्यक्षलाई बोलाउने ?,’ उनले प्रश्न गरेका छन्, ‘किन ? के को लागि ? के त्यो उहाँको निर्वाचन क्षेत्र हो ?’
सीकेको अर्को प्रश्न छ, ‘६ महिनादेखि दिनरात एक गरेर रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गठन आदेशदेखि बजेट विनियोजनसम्म गर्न लगाउने जनमतले अनि श्रेय लिने जसपाले ?’
काम गर्ने कालु, मकै खाने भालु भन्दै उनले यस्तै हस्तक्षेपको रवैया रहे अब प्रतिकार हुने चेतावनी दिएका छन् ।
फेसबुकमा लेखिएको छ, ‘त्यसो हो भने त सोच्नै पर्छ । एक जाडोले गर्जो टर्दैन । काम फेरि फेरि आउँछ ।’