काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालस्थित विदेशी दूतावासलाई धन्यवाद ज्ञापन गरेको छ । नेपालमा पर्यटक भित्र्याएर सरकारको लक्ष्य पूरा गर्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै मन्त्रालयले दूतावासलाई पत्राचार गरी धन्यवाद दिएको हो ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता हेमराज तामाङद्वारा जारी विज्ञप्तिमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नयाँ वर्ष २०२४ को अवसरमा नेपालस्थित विदेशी राजदुत तथा कूटनीतिक नियोगका प्रमुखहरूलाई शुभकामना दिनुहुँदै नेपालको पर्यटन प्रवर्द्धनमा पुर्याएको महत्त्वपूर्ण योगदान र भूमिकाको लागि धन्यवाद ज्ञापन गरेको उल्लेख छ ।
नेपाल सरकारले सन २०२३ मा १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा १० लाख १४ हजार ८ सय ७१ पर्यटक भित्र्याउन सफल भएको थियो ।
साथै नेपाल भ्रमण दशक २०२३/२०३२ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ३५ लाख पुर्याउने लक्ष्य हासिल गर्न मन्त्री किरातीले सबै विदेशी कूटनीतिक नियोगका प्रमुखहरूलाई आफ्ना मुलुकका नागरिकलाई नेपाल भ्रमणका लागि प्रोत्साहन गर्न तथा नेपालको पर्यटन प्रवर्द्धन गर्न सकारात्मक सहयोग र भूमिकाको अपेक्षासहित पत्राचार गरेको प्रवक्ता तामाङले जनाएका छन् ।
