अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा जाँदै नेपालका सन्तहरू « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अयोध्याको राम मन्दिरको प्राण प्रतिष्ठामा जाँदै नेपालका सन्तहरू


१६ पुस २०८०, सोमबार


काठमाडौँ । भारतको अयोध्यामा आगामी जनवरी २२ मा औपचारिक रूपमा प्राण प्रतिष्ठा हुने नयाँ स्वरूपको राम मन्दिरमा नेपालबाट सन्तहरू जाने भएका छन् ।

भारतका हिन्दुहरूको सामाजिक संस्था राष्ट्रिय स्वयंसेवक सङ्घका नेता एवं प्रचार विभाग प्रमुख सुनिल अम्बेडकरका अनुसार नेपालबाट कति सन्तहरू जाने भन्ने कुनै टुङ्गो नलागे पनि धेरैको उपस्थिति हुनेछ ।

नेपाल सरकारका मन्त्री प्रधानमन्त्री तथा राष्ट्रपति जाने कि नजाने भन्ने प्रश्नमा उनले अहिले राजकीयभन्दा आध्यात्मिक समूहमै लक्षित भएको बताए । यद्यपि, भारतीय प्रधानमन्त्री मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलगायत भारत सरकारका उच्च अनुहारहरू भने कार्यक्रममा सरिक हुने उनले बताए ।

नेपालबाट गएको ‘देवशिला’ उचित समयमा त्यसको इन्जिनियरिङ र आध्यात्मिक पक्षहरू हेरेर उचित सम्मान हुनेसमेत उनले बताए । १२ करोड बढी परिवार तथा २० लाख स्वयंसेवक खटेर चन्दा उठाएको मन्दिरलाई हजार वर्ष टिक्ने खालको पत्थरदेखि सबै इन्जिनियरिङसम्मको काम गरिएको उनले बताए ।

पहिले राम मन्दिरमा विवाद गर्ने भारतीय राजनीतिक दलहरू पनि अहिले राम मन्दिर मुद्दामा सकारात्मक भएको भन्दै उनले भने, ‘जनताको लागि राजनीति हुने भएकोले बहुसङ्ख्यक जनताले चाहेको कुरामा अहिले अरु दलहरू पनि सकारात्मक भएका छन् ।’

Tags :
प्रतिक्रिया दिनुहोस