श्रीलङ्का टापु जोड्न सप्तकोशीमा पाँच किलोमिटर लामो झोलुङ्गे पुल बन्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

श्रीलङ्का टापु जोड्न सप्तकोशीमा पाँच किलोमिटर लामो झोलुङ्गे पुल बन्ने


१० पुस २०८०, मंगलबार


काठमाडौँ। सुनसरीको बराहक्षेत्र नगरपालिका-६ को ठाकुरबारीबाट श्रीलङ्का टापुलाई जोड्ने झोलुङ्गे पुल बन्ने भएको छ । नेपालकै ठूलो सप्तकोशी नदीमाथि बन्ने उक्त झोलुङ्गे पुल पाँच किलोमिटर लम्बाइको हुनेछ ।

सङ्घीय सरकारको ठूला झोलुङ्गे पुल निर्माण विभागअन्तर्गत सप्तकोशीमा पहिलो पटक यति लामो झोलुङ्गे पुल निर्माण हुन लागेको बताइएको छ । पुल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम अन्तिम चरणमा पुगेको छ ।

गुरुङका अनुसार सुनसरी क्षेत्र नं ४ का सङ्घीय सांसद तथा पूर्व सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पुल योजनामा पारेका हुन् । झोलुङ्गे पुल सर्भेका लागि ऋषिकेश सर्भिस प्राइभेट लिमिटेड काठमाडौँले डिपिआरको ठेक्का पारेर काम अन्तिम चरणमा पुगेको योजनाका सबइन्जिनियर रञ्जितकुमार यादवले जानकारी दिए । सबइन्जिनियर यादवको नेतृत्वमा सर्भेको काम अन्तिम चरणमा पुगेको हो ।

सबइन्जिनियर यादवले डिपिआरको डिजाइन तयार भइरहेको भन्दै डिजाइन सकिएलगत्तै कन्स्ट्रक्सनको ठेक्का लाग्ने बताए । नमुना झोलुङ्गे पुल नामकरण गरी गत आर्थिक वर्षमा पुलको स्थलगत अध्ययन र निरीक्षण भएको थियो ।

बराहक्षेत्र-६ र ९ तथा उदयपुरको बेलका नगरपालिका-२ र ३ वडा श्रीलङ्का टापु क्षेत्रमा पर्दछ । उक्त क्षेत्र १४ किलोमिटर लम्बाइ र पाँच किलोमिटर चौडाइसम्म फैलिएको छ । श्रीलङ्का टापुमा चार हजार पाँच सय घर धुरीका १० हजारबढीको बसोबास रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस