अनेकतामा एकता हाम्रो मौलिक पहिचान : उपराष्ट्रपति यादव « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

अनेकतामा एकता हाम्रो मौलिक पहिचान : उपराष्ट्रपति यादव


१० पुस २०८०, मंगलबार


काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएकाले अनेकतामा एकता हाम्रो मौलिक परिचय र पहिचान भएको बताएका छन्। किराँत समुदायले मनाउने महान् पर्व उधौली र विविध प्राचीन संस्कृति एवं परम्परागत विरासत बोकेका नेवार समुदायले मनाउने यमरीपुन्हीँ (धान्यपूर्णिमा) एवं ज्यापु दिवसको उपलक्ष्यमा आज शुभकामना दिँदै उनले त्यस्तो बताएका हुन् ।

उपराष्ट्रपति यादवले नेपालमा मनाइने सम्पूर्ण चाडपर्वहरूले मुलुकको एकता, अखण्डता एवं सार्वभौमिकता तथा सामाजिक एवं धार्मिक सद्भाव, सहिष्णुता, भाइचारा, बन्धुत्वभाव, मैत्रीभाव आदिलाई अक्षुण्ण राख्न सहयोग गरेको बताए ।

उपराष्ट्रपति यादवले आफ्नो सन्देशमा भनेका छन्, ‘आ-आफ्नै मौलिक परम्परा, रीतिरिवाज अनुसार दुई फरक समुदाय किराँत र नेवार समुदायले एकै दिन मनाउनुले विविधतामा एकताको सन्देश सम्प्रेषण गर्दै सिङ्गो नेपाली समाज र मुलुकलाई एकतामा बाँध्ने विश्वास लिएको छु ।’

नेपालमा आजकै दिनदेखि ज्यापु संस्कृतिको रक्षार्थ केही वर्षयता ‘ज्यापु दिवस’ मनाउँदै आएको छ । यो अवसरमा नेवाः संस्कृति, बाजागाजा, वेशभूषा आदिलाई जगेर्ना गर्न विभिन्न सांस्कृतिक झाँकी निकाल्ने गरिन्छ । मौलिक बाजा धिमेको तालमा यो अवसरमा निकालिने अद्भुत झाँकीले नेपालभित्र प्रचलनमा रहेको रैथाने रीतिरिवाज र परम्परालाई जीवन्त राख्न सहयोग गर्दछ ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै मुलुकको समृद्धि, विकास, सुशासन, दिगो शान्तिका लागि थप अग्रसर र क्रियाशील हुन उधौली पर्व, यमरीपुन्हीँ: (धान्यपूर्णिमा) र ज्यापु दिवसले उत्प्रेरित गर्न सक्ने विश्वास उपराष्ट्रपति यादवले व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस