मिटरब्याज पीडितहरूले अझै न्याय नपाएको भन्दै पुनः आन्दोलन गर्ने सङ्घर्ष समितिको चेतावनी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिटरब्याज पीडितहरूले अझै न्याय नपाएको भन्दै पुनः आन्दोलन गर्ने सङ्घर्ष समितिको चेतावनी


९ पुस २०८०, सोमबार


काठमाडौँ। मिटरब्याज पीडितहरूले अझै न्याय नपाएको भन्दै सङ्घर्ष समितिले पुनः आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सिरहाको लहानस्थित ऐतिहासिक तथा धार्मिक सलहेश फूलबारीमा सोमबार दिउँसो पत्रकार सम्मेलन गर्दै समितिले आन्दोलनको चेतावनी दिएको हो ।

मिटरब्याज पीडितहरूसँग भएको सहमतिप्रति सरकार इमानदार नदेखिएको र पीडितहरू अझै न्याय नपाउने स्थिति रहेको समितिका संयोजक मनोज पासवानले गुनासो गरे ।

समितिका संयोजक पासवानले सात बुँदे माग पनि अघि सारेका छन् । उनका अनुसार मिटरब्याज सम्बन्धी मुद्दालाई कडाईका साथ समाधानका लागि उच्चस्तरीय संयन्त्र निर्माण गर्नुपर्ने, साहुमहाजनले आफूविरुद्ध उजुरी परेपछि अदालतमार्फत् ल्याउने निषेधाज्ञा सम्बन्धी सवाल सरकारी स्तरबाटै समाधान गर्नुपर्ने, अनुचित लेनदेन सम्बन्धी परेको उजुरी किनारा नलगाउञ्जेल साहुमहाजनले अदालतमा हालेको लेनदेन सम्बन्धी मुद्दाको तत्काल फैसला गर्नुपर्ने समितिको माग छ ।

यस्तै वडा कार्यालयमा हुने कपाली तमसुक प्रमाणीकरण र दर्ता प्रक्रियाको निगरानी गर्नुपर्ने, ठूल्ठूला मिटरब्याजीलाई कानुनी कारबाही गर्नुपर्ने, आयोग र जिल्ला सहायता कक्षमा पीडित र साहुबीच भएका सहमति कार्यान्वयन गर्नुपर्ने, सरकार र मिटरब्याज विरुद्धको सङ्घर्ष समितिबीच भएको पाँच बुँदे सहमति अक्षरसः पालना गरिनुपर्ने माग पनि समितिले गरेको छ ।

आफूहरूको आन्दोलन निरन्तर र सरकारको यस्तै रवैया रहे भयङ्कर आन्दोलन गर्न बाध्य हुने समितिका संयोजक पासवानले चेतावनी दिए ।

समितिका संरक्षक रामरिझन यादवले सरकार र सरकारी संयन्त्रको निरीहताका कारण पीडितहरू न्याय नपाएको आरोप लगाए । उनले भने, ’पीडितहरू जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालय धाउँदाधाउँदा हैरान भए । तर न्याय पाएनन् । उनीहरूमाथि साहुद्धारा अझ दमनका प्रयासहरू भएको छ ।

सरकारले गत वर्षको चैत २० गते विशेष अदालतका पूर्व अध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस