डोटी । कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीको नयाँ निर्मित भवनको उद्घाटन गरिएको छ । महालेखा नियन्त्रक हरिप्रसाद मैनालीले आइतबार एक कार्यक्रमकाबीच भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका महालेखा नियन्त्रक मैनालीले सरकारी कार्यकाले कार्य सञ्चालन भुक्तानी प्रक्रिया गर्दा नीति नियम र विधिभन्दा बाहिर गएर काम गर्न नमिल्ने बताए ।
उनले भने, ‘हामी सँग कर्मचारी अभाव छ तर पनि विभिन्न प्रविधिको प्रयोगले गर्दा सेवा प्रवाहलाई छिटो छरितो चुस्त दुरुस्त बनाउन सकिन्छ, र प्रविधिको प्रयोग गरी सूचना प्रणालीको विकास अवलम्बन गर्न आवश्यक छ ।’
सरकारी निकायका कार्यालय प्रमुख र लेखा समूहका प्रमुख प्रतिनिधीहरुले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ र नियमावली २०७७ बमोजिम मात्र काम काज गर्न र गर्न लगाउन आवश्यक रहेको समेत महालेखा नियन्त्रक मैनालीले बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका विशिष्ट अतिथि डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले लेखा राख्ने पद्धतिको विकास दिनानुदिन परिवर्तन भइरहेको परिस्थतीमा लेखा मानलाई विश्वसनीय बनाउन, लेखा पद्धतिको बारेमा पूर्ण जानकारी भई चुस्त दुरुस्त लेखा प्रणालीको अवलम्ब गर्न आवश्यक रहेको बताए ।
कोष तथा लेखा नियन्त्रक कार्यालयको कार्य सञ्चालनमा सहयोग समन्वय तथा सहजिकरण गर्ने समेत प्रजिअ अर्यालले बताए ।
२०७७ साल फागुन १६ गते देखि निर्माण सुरु गरेको भवन २०७८ साल फागुन १० गते सम्पन्न भएको थियो । पी एस कस्टक्सन निमार्ण कम्पनीले निर्माण गरेको भवनको सम्झौता मूल्य भ्याट सहित १ करोड ८३ लाख४५ लाख ९ सय ७३ रहेको थियो । निर्माणको क्रममा तोकिएको समयमा भन्दा ८ महिना अगाडी भवन निमार्ण सम्पन्न गरेकोले निमार्ण व्यवसायी भट्टले सम्झौता रकम भन्दा बढी पुरस्कार स्वरूप १३ लाख ५१ हजार रुपैयाँ पाएको कोष तथा लेखा नियन्त्रण कार्यालय डोटीका प्रमुख कोष नियन्त्रक कृष्ण बहादुर धामीले बताए ।