न्यायमा पारदर्शी काम गर्ने प्रयास गरेका छौँ : प्रधान न्यायाधीश श्रेष्ठ « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

न्यायमा पारदर्शी काम गर्ने प्रयास गरेका छौँ : प्रधान न्यायाधीश श्रेष्ठ


३ पुस २०८०, मंगलबार


काठमाडौँ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायालयले व्यवस्थित र पारदर्शी तरिकाले काम गर्ने प्रयास गरिरहेको बताएका छन्। 

न्याय परिषद्को ३३औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उनले संवैधानिक र कानुनी जिम्मेवारी पूरा गर्ने उद्देश्यले नै परिषद् स्थापना गरिएको बताए।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश ईश्वरप्रसाद खतिवडाले सुव्यवस्थित न्याय सम्पादन र जनशक्ति व्यवस्थापनका लागि परिषद्ले काम गर्दै आएको उल्लेख गर्दै नेपालको न्यायालयले जिम्मेवार तरिकाले काम गर्ने बताए। 

न्यायालयमा सुधारको गुन्जायस भएको उल्लेख गर्दै उनले अन्य क्षेत्रमा भ्रष्टाचार भएको होला, त्यसका छिटा यहाँ पनि परेका होलान्, तर न्यायालय अनुशासनमा चलेको बताए।

महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलले न्यायाधीश नियुक्ति प्रक्रिया, नियुक्त भएका न्यायाधीशले न्यायिक सुधारका लागि गरेका काम र संस्कारको विषयमा समीक्षा गर्नुपर्नेमा जोड दिए।

नियुक्ति र काम गरिरहेका न्यायाधीशले न्याय प्रणालीमा प्रभावकारी तरिकाले काम गर्न सकेको वा नसकेको विषयमा अध्ययन गर्नुपर्ने जरुरी भएको उनले बताए।

नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेपाली जनताको न्यायको पहुँच र परिषद्को क्रियाकलापले उपभोक्तालाई न्याय मिलेको वा नमिलेको विषयमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिए।

Tags :
प्रतिक्रिया दिनुहोस