कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कृषि विश्वविद्यालयद्वारा पाठ्यक्रम परिमार्जन


३ पुस २०८०, मंगलबार


कृषि तथा वन विज्ञान विश्वविद्यालय

काठमाडौँ । कृषि तथा वन विज्ञान विश्वविद्यालयले बजारमुखी र व्यावहारिक बन्ने गरी आफ्नो पाठ्यक्रम परिमार्जन गरेको छ ।

२०७३ सालदेखि कार्यान्वयनमा आएको पाठ्यक्रमलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेश सुहाउँदो गरी विश्वविद्यालयले नयाँ पाठ्यक्रम तयार गरेको हो । विश्वविद्यालयले भारत र अमेरिकाका विज्ञ प्राध्यापकहरू समेतको परामर्शमा पाठ्यक्रम तयार गरेको हो । पाठ्यक्रम निर्माणका क्रममा नेपाली विज्ञसँगै किसानसँग समेत परामर्श गरिएको थियो ।

विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रका अनुसार कृषि स्नातक, पशु चिकित्सा तथा पशुपालन स्नातक, मत्स्य विज्ञान स्नातक र वन विज्ञान स्नातकको पाठ्यक्रम यसै शैक्षिक सत्रबाट लागू हुने गरी परिमार्जन गरिएको हो ।

पशु चिकित्सामा पाँच वर्ष पढाइ हुन्छ भने अन्य सङ्कायमा चारवर्षे पढाइ हुँदै आएको छ । यसअघिको पाठ्यक्रममा ३० देखि ३३ प्रतिशत प्रयोगात्मक हुने गरेकामा नयाँ पाठ्यक्रममा ४० प्रतिशत प्रयोगात्मक रहेको बताइएको छ ।

विद्यार्थीहरूले प्रयोगात्मक अध्ययनका क्रममा प्रत्यक्ष किसानसँग काम गर्नुपर्ने हुन्छ । पाठ्यक्रमले अहिलेको वातावरण परिवर्तन, नयाँ नयाँ रोगको पहिचान, अनुसन्धानका विधिहरू, अध्ययनका क्रममा सूचना प्रविधिको प्रयोग जस्ता विषय समावेश गरिएका छन् । यसैगरी, विद्यार्थीको तनाव कम गर्न योगा, शारीरिक व्यायाम, शारीरिक शिक्षा, नैतिक शिक्षा पाठ्यक्रममा नै समावेश गरिएको छ ।

पाठ्यक्रम तयार गर्दै कृषिसँगै अन्य विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी, रोजगारदाता, किसानलगायतसँग निरन्तर संवाद र छलफल गरेर तयार गरिएको हो । पाठ्यक्रम तयार गर्दै गर्दा पहिलो र दोस्रो वर्ष आधारभूत अध्ययनलाई जोड दिइएको छ भने बाँकी वर्षहरूमा सीप र प्रविधिसँग जोडेर काम गर्ने गरी पाठ्यक्रम तयार गरिएको छ ।

पाठ्यक्रम लागू भएसँगै यसको मूल्याङ्कनको काम थालिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस