बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक : मन्त्री बस्नेत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक : मन्त्री बस्नेत


३ पुस २०८०, मंगलबार


सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले बढ्दो विदेश पलायन रोक्न चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको बताएका छन् ।

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका-५ स्थित बलेफी माध्यमिक विद्यालयको ७५ औं वार्षिकोत्सव कार्यक्रममा सम्बोधन गर्दै उनले चिकित्सा शिक्षा पढ्न पाउने वातावरण बनाउनका लागि चिकित्सा शिक्षा ऐन संशोधन आवश्यक रहेको बताएका हुन् ।

मन्त्री बस्नेतले चिकित्सा शिक्षा अध्ययनका लागि मात्र हरेक वर्ष ठूलो संख्यामा युवायुवती विदेश पलायन भइरहेको भन्दै यसलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताए ।

नेपालका मेडिकल कलेजहरू र स्वास्थ्य प्रतिष्ठानहरूमा अहिलेको क्षमता भन्दा बढी विद्यार्थीलाई एमबिबिएस र एमडी पढाउन सक्ने क्षमता भएको दाबी गर्दै क्षमता हुँदा हुँदै पनि स्वदेशमा पढ्न नदिएर युवायुवतीलाई पढ्न कै लागि विदेश पठाउनु सही नभएको मन्त्री बस्नेतले बताए ।

उनले भने, ‘अब सरकारले चाडै चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वदेशमै चिकित्सा शिक्षाका सिट बढाउने छ । त्यसपछि चिकित्सा शिक्षा पढ्न विदेश जानेको संख्या घट्ने छ । ’ विदेशी विद्यार्थी समेत नेपाल आएर चिकित्सा शिक्षा पढ्न चाहिरहेको अवस्थामा आफ्ना विद्यार्थीलाई पढ्न कै लागि विदेश पठाउनु स्वभावित नभएको मन्त्री बस्नेतको तर्क छ ।

उनले १०० बेडदेखि ३०० बेडसम्मका अस्पतालमा नर्सको पढाई गर्ने र ३०० बेड भन्दा माथिका अस्पतालमा एमबिबिएसको पढाई गर्ने गरी व्यवस्था मिलाउन सकिने गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रस्ताव पास गरेको बताउँदै मन्त्रीपरिषद्का अधिकांश सदस्यहरूले प्रस्तावलाई सकारात्मक लिएको बताएका छन् ।

नेपालमा चिकित्सा शिक्षाको विकास गर्ने र ठोस निर्णय गर्न ढिलो भइसकेको भन्दै जनताको हित हुने कुरामा निर्णय गर्न आफू कहिल्यै पछि नपर्ने उनको दाबी थियो ।

चिकित्सा शिक्षा ऐन तत्काल संशोधन गर्न नसकिए निकट भविष्यमै चिकित्सक र नर्सको अभाव हुने मन्त्री बस्नेतले बताए ।

मन्त्री बस्नेतले कक्षा १२ सम्मको शिक्षा निःशुल्क हुनु पर्नेमा जोड दिँदै अहिलेकै सरकारले कक्षा १२ सम्मको शिक्षा निःशुल्क गर्ने दाबी गरे ।

कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गङ्गाबहादुर तामाङले शिक्षाको विकास नभएसम्म गाउँको विकास सम्भव नभएकाले विद्यालय शिक्षाको सुधारका लागि सरकारले ठोस नीति ल्याउनु पर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस